फ्रान्समा किन उत्रिए पाँच लाखभन्दा बढी मानिस सडकमा ? नेपालको जेनजी आन्दोलनसँग किन गरिँदै छ तुलना ?

पेरिस । बढ्दो महँगी, इन्धन तथा ऊर्जा मूल्यवृद्धि, विद्यालयमा कर्मचारी अभाव र कमजोर भौतिक पूर्वाधारविरुद्ध फ्रान्समा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशभर भएका प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएको विवरण सार्वजनिक भएको छ । राजधानी पेरिसमा मात्रै सवा लाखको भीड देखिएको छ । प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् भने प्रहरीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । पेरिसमा मात्रै ८ सय ५५ जनालाई नियन्त्रणमा लिइएको फ्रान्सेली प्रहरीको विवरणमा उल्लेख छ । त्यसमध्ये पाँच सयभन्दा बढीलाई हिरासतमा राखिएको र हिरासतमा रहेकामध्ये १ सय ७१ जना नाबालिग रहेको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रदर्शनकारीले राष्ट्रपति इमानुएल म्याक्रोँको राजीनामा माग्दै नाराबाजी गरेका थिए । ‘म्याक्रोँ राजीनामा देऊ’ भन्नेजस्ता नारासहित सडकमा उत्रिएका उनीहरूले सरकारको आर्थिक नीति र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । सुरुवातमा पेरिसमा भएको मुख्य जुलुस तुलनात्मक रूपमा शान्तिपूर्ण देखिए पनि शनिबार साँझ देखि अवस्था बिग्रिएको छ । केही समूहले सडकमा आगो लगाउनुका साथै सवारीसाधन जलाए पछि अवस्था चिन्ताजनक बनेको हो । पसल तथा व्यापारिक प्रतिष्ठानमा तोडफोड र लुटपाट भएको छ । राजधानीको प्लास दे ला रिपब्लिकलगायत प्रमुख स्थानमा समेत हिंसात्मक गतिविधि भएका थिए ।फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा १ सय ५० प्रहरी घाइते भएको बताएका छन् । गृहमन्त्रालयले पेरिससहित मार्सेई, रेनेस, टुलुज र आन्जेलगायत सहरमा नकाब लगाएका समूहबाट लक्षित हिंसात्मक गतिविधि भएको जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच प्रत्यक्ष झडप भएको छ । सरकारी विवरण अनुसार हिंसात्मक घटनामा संलग्न भएको, चोरी गरेको तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको छ । ऐतिहासिक भवनमा आगजनी, पसलमा लुटपाट प्रदर्शनका क्रममा फ्रान्सका विभिन्न सहरमा सार्वजनिक भवन र व्यापारिक प्रतिष्ठानलाई निशाना बनाइएको थियो । लिमोज सहरको टाउन हलमा आगलागी हुँदा भवनको छानाको एक भाग भत्किएको थियो । दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरे पनि केही स्थानमा उग्र प्रदर्शनकारीले उद्धार तथा अग्नि नियन्त्रण कार्यमा अवरोध पुर्याएको स्थानीय प्रहरीले जनाएको छ । लियोन सहरको पर्यटन कार्यालयमा पनि आगजनी भएको थियो । सहरका मेयर ग्रेगोरी डुसेटले ऐतिहासिक भवनमा भएको क्षतिलाई दु:खद घटना बताएका छन् । सेन्ट—इटिएनका मेयर रेजिस जुआनिकोले सामाजिक सञ्जालमा एक युवकको हात ग्रेनेड विस्फोटमा परी गम्भीर रूपमा क्षतिग्रस्त भएको उल्लेख गरेका थिए । पेरिसमा कपडा र खाद्य सामग्रीका पसलमा लुटपाट भएको थियो भने लिल सहरमा एप्पल स्टोरभित्र प्रवेश गरी सामान लुटिएको खबर सार्वजनिक भएको थियो । ग्रेनोबल, एभिन्यो, पो, मोन्टपेलियर र भ्यालेन्सलगायत सहरमा समेत भवन तथा अन्य संरचनामा क्षति पुगेको विवरण आएका छन् । प्रदर्शनका क्रममा भएको हिंसाले सरकारमाथिको असन्तुष्टि र शान्तिपूर्ण विरोधका मागसँगै सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने समूहहरूको गतिविधिलाई पनि सतहमा ल्याएको छ । विद्यालयको बेथितिबाट सुरु भएको आन्दोलन अहिलेको प्रदर्शनको एउटा प्रमुख पृष्ठभूमि फ्रान्सको शिक्षा क्षेत्रको अवस्था हो । देशका माध्यमिक विद्यालयहरूमा शिक्षक तथा अन्य कर्मचारीको अभाव, जीर्ण भौतिक संरचना र कक्षाकोठामा बढ्दो चापजस्ता समस्याविरुद्ध विद्यार्थीहरूले केही सातादेखि विरोध गर्दै आएका छन् । सेप्टेम्बरको अन्त्यतिर पेरिस नजिकैको क्रेतेइल क्षेत्रमा विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव र कक्षाकोठाको अवस्थालाई लिएर प्रदर्शन गरेका थिए । त्यस क्रममा खिचिएका दृश्य सामाजिक सञ्जालमा फैलिएपछि विद्यालय सुधारको मुद्दाले राष्ट्रिय ध्यान खिचेको थियो । त्यसपछि देशका विभिन्न भागमा विद्यार्थीहरूले विद्यालयका ढोका बन्द गर्ने, जुलुस निकाल्ने र शैक्षिक संस्थामा थप लगानीको माग गर्ने गतिविधि अघि बढाए । शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी संगठनहरूले समेत आन्दोलनलाई समर्थन गरे । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले पर्याप्त ध्यान नदिएको उनीहरूको आरोप छ । विद्यालयमा कर्मचारीको अभाव हटाउन, भौतिक पूर्वाधार सुधार गर्न र विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन थप बजेट विनियोजन गर्नुपर्ने माग उनीहरूले राख्दै आएका छन् । सरकारले भने केही सुधारका प्रयास अघि बढाएको जनाएको छ । शिक्षामन्त्री एडुआर्ड जेफ्रेले अक्टोबर ८ मा एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तीन हजार अतिरिक्त अस्थायी शिक्षक नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर विद्यार्थी र अन्य प्रदर्शनकारीको असन्तुष्टि मत्थर हुन सकेको छैन । महँगीविरुद्धको आक्रोशले थप व्यापक बनायो शिक्षा सुधारको मागमा केन्द्रित आन्दोलनमा जीवनयापनको बढ्दो खर्च र इन्धनको मूल्यवृद्धिविरुद्ध असन्तुष्ट समूहहरू पनि जोडिएपछि प्रदर्शन थप व्यापक बनेको हो ।इन्धन, ऊर्जा, आवास तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारणको आर्थिक अवस्था प्रभावित भएको छ । आम्दानीको तुलनामा खर्च बढ्दै गएको र सरकारले नागरिकका समस्या सम्बोधन गर्न नसकेको भन्दै विभिन्न समूहले विरोध गर्दै आएका छन् । शनिबार विद्यार्थी संगठन, ट्रेड युनियन र अन्य विरोध समूहसँगै ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकहरू पनि सडकमा उत्रिएका थिए । फरक–फरक मुद्दामा केन्द्रित समूहहरू एकै ठाउँमा भेला भएपछि प्रदर्शनको आकार र तीव्रता दुवै बढेको देखिएको हो । यद्यपि प्रदर्शनमा सहभागी सबै समूहको माग एउटै छैन । विद्यार्थीले शिक्षा सुधारमा जोड दिएका छन् भने अन्य समूहले महँगी, इन्धनको मूल्य, आर्थिक असमानता र सरकारको नीतिको विरोध गरेका छन् । के हो ‘यल्लो भेस्ट’ आन्दोलन ? फ्रान्समा अहिले देखिएको असन्तुष्टिको एउटा महत्त्वपूर्ण पृष्ठभूमि सन् २०१८ मा सुरु भएको ‘यल्लो भेस्ट’ अर्थात् पहेँलो ज्याकेट आन्दोलन हो । त्यतिबेला राष्ट्रपति म्याक्रोँको सरकारले इन्धनमा कर बढाउने योजना अघि सारेपछि लामो दूरीको यात्रा गर्नुपर्ने सर्वसाधारण, सवारी चालक र यातायात क्षेत्रमा काम गर्नेहरू प्रभावित हुने भन्दै विरोधमा उत्रिएका थिए । फ्रान्समा सवारी साधनमा प्रयोग हुने पहेँलो सुरक्षा ज्याकेट सजिलै उपलब्ध हुने भएकाले प्रदर्शनकारीले त्यही ज्याकेट लगाएर विरोध गरेका थिए । त्यसैबाट आन्दोलनको नाम ‘यल्लो भेस्ट’ रहन गएको हो । सन् २०१८ नोभेम्बर १७ बाट देशव्यापी बनेको यो आन्दोलन विस्तारै इन्धनको मूल्यवृद्धिमा सीमित रहेन । यसले जीवनयापनको लागत, आर्थिक असमानता, सरकारको कर नीति र सर्वसाधारणका समस्याप्रति राजनीतिक नेतृत्वको उदासीनताविरुद्ध व्यापक रूप लियो । आन्दोलनले तत्कालीन म्याक्रोँ सरकारमाथि ठूलो दबाब सिर्जना गरेको थियो । अन्तत: सरकारले इन्धन कर बढाउने प्रस्ताव फिर्ता लिनुपरेको थियो । त्यसपछि पनि जीवनयापनको खर्च र आर्थिक नीतिसम्बन्धी असन्तुष्टिको प्रतीकका रूपमा यल्लो भेस्ट आन्दोलन चर्चामा रहँदै आएको छ । यसपटक महँगी र इन्धनको मूल्यवृद्धिको विरोधमा उक्त समूहका समर्थकसमेत सहभागी हुँदा विद्यार्थी आन्दोलनले थप व्यापक रूप लिएको हो । राजनीतिक अनिश्चितताबीच म्याक्रोँ सरकारमाथि दबाब फ्रान्समा अहिले भइरहेको प्रदर्शन आर्थिक र सामाजिक असन्तुष्टिमा मात्र सीमित छैन । यसले देशको राजनीतिक परिस्थितिलाई समेत प्रभावित पार्ने देखिएको छ । फ्रान्समा सन् २०२७ को अप्रिलमा राष्ट्रपतीय निर्वाचन हुने अपेक्षा छ । म्याक्रोँको वर्तमान कार्यकाल पनि सन् २०२७ मै समाप्त हुँदैछ । फ्रान्सको संवैधानिक व्यवस्था अनुसार उनी लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न पाउँदैनन् । त्यसैले आगामी निर्वाचन अघि सरकारविरुद्ध चुलिएको असन्तुष्टि र सडक प्रदर्शनले राजनीतिक दलहरूलाई दबाबमा पारेको छ । म्याक्रोँको सरकार संसद्मा कमजोर स्थितिमा रहेको र आगामी बजेट पारित गर्न विपक्षी दलहरूको समर्थन जुटाउन कठिन भइरहेको समचारहरु सार्वजनिक भएका छन् । त्यस माथि आर्थिक वृद्धि, सार्वजनिक खर्च र बजेट घाटासम्बन्धी चुनौतीले सरकारको अवस्था थप जटिल बनाएको छ । फ्रान्स सरकारले सन् २०२६ मा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ५.४ प्रतिशत पुग्न सक्ने अनुमान गरेको छ । सार्वजनिक खर्च नियन्त्रण गर्ने सरकारी प्रयास र नागरिकले राहत तथा सार्वजनिक सेवामा थप लगानी गर्नुपर्ने मागबीचको द्वन्द्वले राजनीतिक बहसलाई तीव्र बनाएको छ । आगामी राष्ट्रपतीय निर्वाचनमा कट्टर दक्षिणपन्थी नेसनल र्यालीकी नेता मारिन ले पेन र कट्टर वामपन्थी ला फ्रान्स इन्सोमिजका नेता जाँ—लुक मेलेनकोनको भूमिकालाई लिएर पनि चर्चा भइरहेको छ ।मेलेनकोनले प्रदर्शनमा सहभागी हुँदै प्रहरीमाथि प्रदर्शनकारी विरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका थिए । तर उनले लुटपाट र आगजनीको निन्दासमेत गरेका थिए । प्रधानमन्त्री लेकोर्नुले भने उनको टिप्पणीलाई ‘खतरनाक र निन्दनीय’ भन्दै आलोचना गरेका छन् । ले पेनले प्रदर्शनकारीका जायज मागलाई कट्टर वामपन्थीहरूले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएकी छन् । उनले मेलेनकोनमाथि हिंसालाई प्रोत्साहन गरेको आरोपसमेत लगाएकी छन् । राष्ट्रपति म्याक्रोँले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाट गर्नेहरूविरुद्ध कानुनी कारबाही गरिने बताएका छन् । प्रधानमन्त्री लेकोर्नुले पनि हिंसाका माध्यमबाट राजनीतिक एजेन्डा स्थापित गर्न नदिइने बताएका छन् । यसरी आगामी निर्वाचनको पूर्वसन्ध्यामा सरकारविरुद्ध बढेको असन्तुष्टि, संसद्मा देखिएको चुनौती र आर्थिक दबाबले फ्रान्सको राजनीतिक वातावरणलाई थप संवेदनशील बनाएको छ । फ्रान्समा मात्र होइन, अन्य देशमा पनि प्रदर्शन जीवनयापनको बढ्दो खर्च र सार्वजनिक सेवाको अवस्थाविरुद्धको असन्तुष्टि फ्रान्समा मात्र सीमित छैन । पछिल्लो समय युरोपका विभिन्न देशमा पनि यस्तै प्रकृतिका प्रदर्शन भएका छन् । शनिबार बेल्जियममा शिक्षा क्षेत्रमा बढ्दो खर्च, विश्वविद्यालयको दर्ता शुल्क र उच्च शिक्षामा पहुँच सीमित हुने जोखिमविरुद्ध प्रदर्शन गरिएको थियो । इटालीमा विश्वभर जारी युद्ध र जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । पोर्चुगलमा पनि महँगी, न्यून ज्याला र आवासको समस्याविरुद्ध दशौँ हजार मानिस सडकमा उत्रिएका थिए । पोर्चुगलमा घर खरिद तथा भाडामा लिन लाग्ने खर्च बढ्दै गएको छ । सन् २०१७ को तुलनामा आवासको मूल्य दोब्बरभन्दा बढी पुगेको विवरणले त्यहाँको आवास संकटको गम्भीरता देखाउँछ ।यस्तै, भारतमा कक्रोच जनता पार्टीको आन्दोलन, अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग्दै भएका प्रदर्शन र अर्जेन्टिनामा विश्वविद्यालयको बजेट कटौती विरुद्धका विरोधले विभिन्न देशमा सरकार तथा संस्थापन पक्षप्रति असन्तुष्टि बढिरहेको देखाउँछन् । यी सबै आन्दोलनको कारण र स्वरूप एउटै भने छैन । कतै शिक्षा र सार्वजनिक सेवाको गुणस्तर प्रमुख मुद्दा बनेको छ भने कतै महँगी, आवास संकट, आर्थिक असमानता र सरकारी नीतिको विरोध मुख्य विषय बनेका छन् । नेपालको जेन—जी आन्दोलनसँग तुलना फ्रान्ससहित विभिन्न देशमा भइरहेका प्रदर्शनलाई कतिपयले नेपालको जेन—जी आन्दोलनसँग तुलना गरेर पनि हेर्ने गरेका छन् । सामाजिक सञ्जालको प्रभाव, युवा पुस्ताको सहभागिता र स्थापित राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिले विभिन्न देशका आन्दोलनबीच केही समानता देखाउन सक्छ । तर आन्दोलनका मूल कारण भने फरक छन् । नेपालमा जेन—जी आन्दोलनको केन्द्रमा भ्रष्टाचार, नातावाद, सुशासन र राजनीतिक जवाफदेहिताजस्ता विषय थिए । फ्रान्समा अहिलेको आन्दोलन शिक्षा क्षेत्रको बेथिति, जीवनयापनको बढ्दो खर्च, इन्धनको मूल्य र आर्थिक नीतिप्रतिको असन्तुष्टिसँग जोडिएको छ । विश्वव्यापी सञ्चार र सामाजिक सञ्जालका कारण एउटा देशमा उठेका मुद्दा तथा आन्दोलनका शैलीले अर्को देशका नागरिकलाई पनि प्रभावित पार्न सक्छन् । तर प्रत्येक देशको राजनीतिक, आर्थिक र सामाजिक परिस्थिति फरक हुने भएकाले आन्दोलनको स्वरूप र परिणाम पनि फरक हुन सक्छ । फ्रान्समा जारी प्रदर्शनले सरकारलाई शिक्षा, महँगी र सार्वजनिक सेवासम्बन्धी माग सम्बोधन गर्न दबाब दिइरहेको छ । तर हिंसा, आगजनी र लुटपाटका घटनाले आन्दोलनको राजनीतिक सन्देशसँगै सार्वजनिक सुरक्षा र कानुनी शासनको प्रश्नसमेत उठाएका छन् । आगामी दिनमा फ्रान्स सरकारले प्रदर्शनकारीका माग सम्बोधन गर्न कस्ता कदम चाल्छ र त्यसले सन् २०२७ को राष्ट्रपतीय निर्वाचन अघिको राजनीतिक वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्त्वपूर्ण रहनेछ । The post फ्रान्समा किन उत्रिए पाँच लाखभन्दा बढी मानिस सडकमा ? नेपालको जेनजी आन्दोलनसँग किन गरिँदै छ तुलना ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

देउवा नेतृत्वको कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको कार्यसमिति गठन
काठमाडौँ। नेपाली कांग्रेसको देउवा नेतृत्वले नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई जिम्मेवारी दिएको छ । सिटौलाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो। समितिको उपसंयोजकमा संजिव श्रेष्ठ, सदस्य... ...

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा।हात्तीको आक्रमणबाट झापाको बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए। गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो। शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ। खातुनसँगै पदयात्रामा रहका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते ...

नोबेल पुरस्कार विजेता हल र वुडफोर्डको 'समष्टिगत आर्थिक स्थिरीकरण' सिद्धान्त र यसको नेपाली अर्थतन्त्रमा प्रयोग
हालै स्ट्यान्डर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट ई. हल र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक माइकल वुडफोर्ड लाई 'समष्टिगत आर्थिक स्थिरीकरणको सूक्ष्म आर्थिक आधार' मा गरेको महत्त्वपूर्ण अनुसन्धानका लागि सन् २०२६ को अर्थशास्त्रतर्फको प्रतिष्ठित... ...

आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ब्राण्डमा दिइरहेको छ: अध्यक्ष ढकाल
चितवन। आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’ मार्फत नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोही स्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ । हस्पिटालिटीले नवलपुरको गैंडाकोटमा ६५ कोठाको ईला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको ईला कम्फर्ट, बाग्लुङ बजारमा ३० कोठाको ईला कम्फर्ट सञ्चालन गरिरहेको छ । ...


