फिनल्यान्डको आल्टो विश्वविद्यालयसँगको सहकार्य विस्तार गर्दै नोकियाले कृत्रिम बुद्धिमता, छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी), बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टर प्रविधिमा केन्द्रित अनुसन्धान तथा विकास परियोजनालाई अघि बढाउने भएको छ। नोकियाले आल्टो विश्वविद्यालयसँगको अनुसन्धान तथा विकास सहकार्यलाई निरन्तरता दिनुका साथै थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। यसअन्तर्गत वार्षिक १३ लाख युरोका परियोजनामा सहकार्य गरिनेछ। साथै, कम्पनीले विश्वविद्यालयलाई १५ लाख यूरो सहयोग उपलब्ध गराउने भएको छ। नोकियाका अनुसार यसले उसको महत्त्वपूर्ण शैक्षिक साझेदारीलाई थप बलियो बनाउनुका साथै भविष्यको कनेक्टिभिटीलाई आकार दिने प्रविधिमा अनुसन्धान र शिक्षालाई सहयोग पुर्याउनेछ। आल्टो विश्वविद्यालय नोकियाको सबैभन्दा सक्रिय विश्वविद्यालयस्तरीय अनुसन्धान साझेदार हो। दुवै संस्थाले संयुक्त अनुसन्धान, शैक्षिक कार्यक्रम, विद्यावारिधि अध्ययन तथा भविष्यका प्रविधिका लागि दक्ष जनशक्ति विकासमा सहकार्य गर्दै आएका छन्। आल्टो विश्वविद्यालयको अनुसन्धानका प्रमुख क्षेत्रहरूमा बुद्धिमान नेटवर्क तथा ६जी, रेडियो र एन्टेना प्रविधि, सेमिकन्डक्टर, कृत्रिम बुद्धिमता, मेसिन लर्निङ र मल्टिमिडिया रहेका छन्। सन् २०१० देखि यी दुई संस्थाले ४०० भन्दा बढी संयुक्त अनुसन्धान परियोजनामा काम गरिसकेका छन्। तीमध्ये फिनल्यान्डको बिजनेस फिनल्यान्डबाट आर्थिक सहयोग प्राप्त ६जी पावर परियोजना बुद्धिमान र ऊर्जा दक्ष नेटवर्कमा केन्द्रित थियो। त्यसैगरी, रिइन्स–६जी परियोजनाले नेटवर्कको लचिलोपनलाई प्राथमिकता दिएको थियो भने नोकियाको नेतृत्वमा सञ्चालित युरोपेली ६जी अनुसन्धान कार्यक्रम हेक्सा–एक्स–टू गत वर्ष सम्पन्न भएको थियो। टेलिकम्स डटकमका अनुसार दुवै संस्थाले फिनल्यान्ड र स्विडेनका शैक्षिक तथा औद्योगिक क्षेत्रको सहभागितामा सार्वजनिक आर्थिक सहयोगबाट सञ्चालन हुने अनुसन्धानमार्फत भविष्यमा लचिलो कनेक्टिभिटीका क्षेत्रमा सहकार्य गर्ने सम्भावना पनि खोजिरहेका छन्। यस अनुसन्धानले सार्वजनिक दूरसञ्चार सेवा प्रदायक, औद्योगिक क्षेत्र, सार्वजनिक सुरक्षा तथा रक्षा नेटवर्कजस्ता विभिन्न नेटवर्क वातावरणका लागि आवश्यक लचिलोपनका विषयलाई समेट्नेछ। नोकियाकी प्रमुख प्रविधि तथा एआई अधिकारी पल्लवी महाजनले कनेक्टिभिटीको आगामी युग कृत्रिम बुद्धिमता, सञ्चार र अन्य नयाँ प्रविधिको संयोजनबाट अघि बढ्ने बताइन्। उनले भनिन्, “यी प्रविधिको सम्भावनालाई वास्तविक जीवनमा उपयोगी नवप्रवर्तनमा रूपान्तरण गर्न उद्योग र शैक्षिक क्षेत्रबीच गहिरो सहकार्य आवश्यक छ। आल्टो विश्वविद्यालय दशकौँदेखि नोकियाको महत्त्वपूर्ण साझेदार रहँदै आएको छ। अनुसन्धान र दक्ष जनशक्तिको क्षेत्रमा यसको योगदान उल्लेखनीय छ।” उनका अनुसार लगानी बढाएर बुद्धिमान, लचिलो र ऊर्जा दक्ष नेटवर्कको विकासलाई तीव्र बनाउन सकिनेछ। साथै, ६जी युग र त्यसपछिका प्रविधिका लागि आवश्यक सीप तथा प्रविधि विकासमा पनि सहयोग पुग्नेछ। आल्टो विश्वविद्यालयका अध्यक्ष इल्का निमेलाले नोकियासँगको दीर्घकालीन साझेदारीले विश्वविद्यालयको अनुसन्धान र औद्योगिक क्षेत्रको अनुभव एकै ठाउँमा आउँदा हासिल गर्न सकिने उपलब्धि देखाएको बताए। उनले नोकियाको आर्थिक सहयोग र अनुसन्धान तथा विकासमा गरिएको लगानीले कृत्रिम बुद्धिमता, ६जी, बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टर प्रविधिसम्बन्धी अनुसन्धानलाई विश्वव्यापी उपयोगका समाधानमा रूपान्तरण गर्न विश्वविद्यालयको क्षमता बढाउने बताए। यस सहकार्यले आगामी पुस्ताका प्रविधि जनशक्ति विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ। उनले फिनल्यान्डको नवप्रवर्तन प्रणालीप्रति नोकियाको निरन्तर प्रतिबद्धताको प्रशंसा गरे। यसै साता नोकियाले न्युजिल्यान्डको दूरसञ्चार कम्पनी वान न्युजिल्यान्डसँगको साझेदारी पनि विस्तार गरेको छ। उक्त सम्झौताअन्तर्गत नोकियाले आफ्नो एस्युरेन्स सेन्टर र अटोनोमस नेटवर्क्स डेटा सुइट प्रयोगमा ल्याउनुका साथै अनुसन्धान तथा विकासमा संयुक्त सहकार्य र परामर्श सेवा उपलब्ध गराउनेछ। नोकियाका अनुसार यस सहकार्यले वान न्युजिल्यान्डलाई नेटवर्कको अवस्था पहिले नै अनुमान गर्न, छिटो निर्णय लिन र ग्राहकमा असर पर्नुअघि नै आवश्यक कदम चाल्न सहयोग गर्नेछ। The post फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया appeared first on Technology Khabar.
फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






