Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनभिडियासम्बन्धी विवादले ट्रम्पको चीन भ्रमणअघि अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धा थप चर्काउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियासम्बन्धी विवादले ट्रम्पको चीन भ्रमणअघि अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धा थप चर्काउने
Photo / Coverage: टेक्नोलोजी खबर

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँग सम्बन्ध रहेको समाचार सार्वजनिक हुनुअघि नै उनको कम्पनीले उत्पादन गर्ने अत्याधुनिक चिप अमेरिका र चीनबीच कृत्रिम बुद्धिमताको क्षेत्रमा अग्रता हासिल गर्ने प्रतिस्पर्धाको केन्द्रमा थियो। अहिले यो विवादले दुई देशबीचको प्रतिस्पर्धालाई थप चर्काउने खतरा बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता चीनमा राष्ट्रपति सी चिनफिङसँग भेट्ने तयारीमा रहेका बेला अमेरिकी संसद्का दुवै दलका सांसदहरूले यो घटनालाई आधार बनाएर अमेरिकी प्रविधिमा आफ्नो अग्रता जोगाउन निर्यात नियन्त्रण थप कडा बनाउन माग गरिरहेका छन्। लन्डनस्थित प्रविधि अनुसन्धान तथा परामर्श संस्था ओम्डियाका प्रमुख विश्लेषक लियान जे सुले यो विवादले राष्ट्रिय सुरक्षा, निर्यात नियन्त्रण र विदेश नीतिसम्बन्धी चासो कसरी एकअर्कासँग जोडिएका छन् भन्ने देखाएको बताए। कृत्रिम बुद्धिमताको सबैभन्दा उन्नत प्रविधि विकास गर्ने प्रतिस्पर्धाको केन्द्रमा शक्तिशाली एआई चिपमा पहुँच प्राप्त गर्ने होड रहेको छ। अमेरिकाको नेतृत्वमा लगाइएका निर्यात प्रतिबन्धका कारण चीनले विश्वका सबैभन्दा उन्नत एआई चिप प्राप्त गर्न सकेको छैन। यस रणनीतिलाई बेइजिङले अमेरिकाले एआई क्षेत्रमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाउँदै आएको छ। एपीन्युजका अनुसार कुनै समय चीनको एआई चिप बजारमा करिब ९५ प्रतिशत हिस्सा ओगटेको एनभिडियाको बिक्री निर्यात प्रतिबन्धका कारण निकै घटेको छ। तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनका पालामा सुरु भएको यस्तो प्रतिबन्ध खुकुलो बनाउन हुआङले वासिङ्टनमा लबिइङ गरेका थिए। त्यसपछि ट्रम्पले यसै वर्ष एनभिडियाका अत्याधुनिक भए पनि सबैभन्दा शक्तिशाली नभएका एच२०० चिप चीन निर्यात गर्न अनुमति दिएका थिए। ट्रम्पले एआई क्षेत्रको विस्तारलाई प्राथमिकता दिँदै आएका छन्। यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको हुआङप्रति उनले प्रशंसा व्यक्त गर्दै आएका छन्। ट्रम्पको दोस्रो कार्यकालमा यी दुईबीच नियमित कुराकानी हुँदै आएको छ। विवाद चर्किरहेका बेला यसै साता पनि उनीहरूबीच कम्तीमा दुई पटक कुराकानी भएको थियो। निर्यात नियन्त्रण कडा बनाउनुपर्ने पक्षलाई नयाँ आधार न्युयोर्क विश्वविद्यालयको सेन्टर फर ग्लोबल अफेयर्सका सहायक प्राध्यापक सायोयुआन युआनका अनुसार वासिङ्टनको रणनीति मुख्यतः हार्डवेयरमा केन्द्रित रहँदै आएको छ। अमेरिकी अधिकारीहरूले क्यालिफोर्नियास्थित एनभिडियाका सबैभन्दा शक्तिशाली चिप कहाँ निर्यात हुन्छ भन्ने नियन्त्रण गर्न सके कृत्रिम बुद्धिमताको प्रतिस्पर्धामा पनि नियन्त्रण कायम गर्न सकिने विश्वास गरेका थिए। युआनका अनुसार यो रणनीतिले चिनियाँ कम्पनीहरूको प्रगतिलाई सुस्त बनाउन प्रभावकारी भूमिका खेले पनि मुख्य खतरा भौतिक हार्डवेयरमा मात्र नभई हुआङजस्ता प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँगको पहुँचमा पनि हुन सक्ने पक्षलाई बेवास्ता गरेको थियो। उनका अनुसार यस घटनाअघि नै कडा निगरानी र निर्यात नियन्त्रणको पक्षमा रहेका अमेरिकी सांसदहरूले अब आफ्नो तर्कलाई समर्थन गर्न नाम र अनुहारसहितको एउटा घटना पाएका छन्। उनले भने, “अहिले चीनतर्फ चिप निर्यातको नियन्त्रण खुकुलो बनाउने पक्षमा वासिङ्टनमा कोही पनि देखिन चाहँदैन।” यसै साता अमेरिकी संसद्का केही डेमोक्र्याट सांसदले वाणिज्यमन्त्री हावर्ड लटनिकलाई पत्र लेख्दै हुआङको चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँगको सम्बन्धबारे सरकारी अधिकारीहरूलाई के जानकारी थियो भन्ने प्रश्न गरेका छन्। उनीहरूले चीनतर्फ हुने अत्याधुनिक कृत्रिम बुद्धिमता चिपको निर्यात तत्काल रोक्न पनि माग गरेका छन्। दुवै राजनीतिक दलका सांसदहरूले चीनलाई अमेरिकी अत्याधुनिक चिप तथा एआई प्रविधिमा पहुँच प्राप्त गर्नबाट रोक्ने उद्देश्यले थप कडा कानुन बनाउनुपर्ने आवाज उठाउन थालेका छन्। अमेरिकी रक्षा नीतिसम्बन्धी विधेयकको सिनेट संस्करणमा चीनलाई अत्याधुनिक एआई चिप बिक्री गर्ने अनुमतिबारे संसद्ले समीक्षा गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, निर्यात गरिएका एआई चिप अनधिकृत क्षेत्रमा नपुगून् भन्ने सुनिश्चित गर्न वाणिज्य विभागलाई तिनको निगरानी गर्ने अधिकार दिने र अमेरिकी सहयोगी राष्ट्रहरूलाई पनि चिनियाँ चिप निर्माता कम्पनीमाथि अमेरिकाकै जस्तो निर्यात प्रतिबन्ध लगाउन बाध्य पार्ने प्रस्ताव समावेश छन्। बेइजिङले भने यो घटनालाई नयाँ प्रविधि प्रतिबन्ध लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार पत्रकारहरूसँग भनिन्, “अमेरिकाले प्रविधिमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा ‘चिनियाँ जासुस’ को कथा बनाउने काम बन्द गर्नुपर्छ।” एआई सुरक्षाका विषयमा अमेरिका र चीन साझा सहमतितर्फ अघि बढ्दै एनभिडियाका प्रमुख हुआङसँग सम्बन्ध रहेको बताइएकी महिला एलिस हुआङ हुन्। उनी सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी हुन्। द न्युयोर्क टाइम्सको समाचारअनुसार अमेरिकी अधिकारीहरूले उनलाई चिनियाँ जासुस भएको आशंका गरेका छन्। उनले एनभिडियालाई आफ्ना अत्याधुनिक चिप चीनमा अझ बढी उपलब्ध गराउन प्रभावित पार्ने प्रयास गरेको हुन सक्ने अमेरिकी अधिकारीहरूको आशंका छ। बेइजिङले भने उनी चिनियाँ जासुस भएको दाबी अस्वीकार गरेको छ। चीनले उक्त आरोपलाई आधारहीन भनेको छ। अमेरिकी उच्च अधिकारीहरूले शुक्रबार पत्रकारहरूलाई दिएको जानकारीअनुसार ट्रम्पले एनभिडियासम्बन्धी विषयमा सी चिनफिङसँग प्रत्यक्ष रूपमा कुरा गर्ने योजना बनाएका छैनन्। ह्वाइट हाउसले तय गरेको सर्तअनुसार ती अधिकारीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने गरी जानकारी दिएका हुन्। अधिकारीहरूले चीनले अत्याधुनिक कम्प्युटर चिप तस्करी गर्ने वा प्रयोग गर्ने विद्यमान प्रतिबन्धका कानुनी कमजोरी बन्द गरेमा त्यसको प्रतिकार गर्ने अपेक्षा आफूहरूले नगरेको पनि बताएका छन्। हुआङ ह्वाइट हाउसमा नियमित आउने जाने गरेका छन्। गत मे महिनामा उनी अलास्कामा एयरफोर्स वन विमानमा चढेर अन्तिम समयमा ट्रम्पसँग बेइजिङको राजकीय भ्रमणमा सहभागी भएका थिए। त्यहाँ उनले सडकमा पाइने परिकार खाएर स्थानीयको ध्यान खिचेका थिए। सेप्टेम्बरमा ट्रम्पले वासिङ्टनमा सीलाई स्वागत गर्दा हुआङ र उनकी पत्नी लोरी दुवै नेतासँगै मुख्य टेबलमा बसेका थिए। त्यही महिना आयोजित एक प्रविधि सम्मेलनमा प्रत्यक्ष कार्यक्रममा सहभागी भइरहेका बेला हुआङले राष्ट्रपतिको फोनसमेत उठाएका थिए। यसैबीच, अमेरिका र चीन एआईसँग सम्बन्धित राष्ट्रिय सुरक्षा घटनाका लागि आपसी सम्पर्क कायम गर्ने हटलाइन स्थापना गर्ने विषयमा सहमत भएका छन्। वासिङ्टनस्थित अनुसन्धान संस्था ब्रुकिङ्स इन्स्टिच्युसनका अनुसन्धानकर्ता काइल चानका अनुसार एनभिडियासम्बन्धी विवाद र अमेरिकाले थप निर्यात नियन्त्रणका उपाय अपनाउन सक्ने सम्भावनाले दुई देशबीच भइरहेको एआईसम्बन्धी वार्तामा अवरोध पुर्‍याउन सक्छ। उनले भने, “प्रश्न के हो भने बेइजिङले निर्यात नियन्त्रणलाई एआई सुरक्षा छलफलबाट अलग राख्न सक्छ कि सक्दैन, वा यी दुवैलाई एकअर्कासँग जोडिएका विषयका रूपमा हेर्छ भन्ने हो।” The post एनभिडियासम्बन्धी विवादले ट्रम्पको चीन भ्रमणअघि अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धा थप चर्काउने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलको तेस्रो संस्करण : लिग चरणमा कसले देखायो दम, कसले गुमायो लय ?
TechnologyJust now

एनपीएलको तेस्रो संस्करण : लिग चरणमा कसले देखायो दम, कसले गुमायो लय ?

३० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पुरा भएको छ । अब पहिलो क्वालिफायर (क्वालिफायर–वान)मा डिफेन्डिङ च्याम्पियन (साविक विजेता) लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन भने इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने […] The post एनपीएलको तेस्रो संस्करण ...

आइसिटी फ्रेम
फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया
TechnologyJust now

फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया

फिनल्यान्डको आल्टो विश्वविद्यालयसँगको सहकार्य विस्तार गर्दै नोकियाले कृत्रिम बुद्धिमता, छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी), बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टर प्रविधिमा केन्द्रित अनुसन्धान तथा विकास परियोजनालाई अघि बढाउने भएको छ। नोकियाले आल्टो विश्वविद्यालयसँगको अनुसन्धान तथा विकास सहकार्यलाई निरन्तरता दिनुका साथै थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। यसअन्तर्गत वार्षिक १३ लाख युरोका परियोजनामा सहकार्य गरिनेछ। साथै, कम्पनीले विश्वविद्यालयलाई १५ लाख यूरो सहयोग ...

टेक्नोलोजी खबर
चीनको प्रविधि प्रभावलाई चुनौती दिन अमेरिका–भारतसहित १० देश एकजुट
TechnologyJust now

चीनको प्रविधि प्रभावलाई चुनौती दिन अमेरिका–भारतसहित १० देश एकजुट

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), अत्याधुनिक प्रविधि र महत्त्वपूर्ण आपूर्ति शृङ्खलाको सुरक्षा गर्ने उद्देश्यले अमेरिका र भारतसहित १० देशले नयाँ रणनीतिक सहकार्य सुरु गरेका छन् । चीनसँग प्रविधिको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबिच अमेरिकाको नेतृत्वमा यी देशले प्रविधि तथा पूर्वाधार सुरक्षाका लागि साझा पहल अघि बढाएका हुन् ।अमेरिकाको स्यान फ्रान्सिस्कोमा नोभेम्बर १५ मा आयोजित ‘प्याक्स सिलिका फाउन्डर्स रिट्रिट’ का क्रममा सहभागी राष्ट्रहरूले ...

आइसिटी समाचार
एनभिडियाको नेतृत्वमा हुआङलाई फर्काउन सिलिकन भ्यालीको दबाब, मस्कको समर्थन
TechnologyJust now

एनभिडियाको नेतृत्वमा हुआङलाई फर्काउन सिलिकन भ्यालीको दबाब, मस्कको समर्थन

काठमाडौं । एनभिडियाका सहसंस्थापक तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुन: कम्पनीको नेतृत्वमा ल्याउन सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीहरूले दबाब बढाएका छन् । उनको पुनर्बहालीको माग गर्दै सुरु गरिएको अनलाइन अभियानमा एक लाख ६० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।‘स्ट्यान्ड विथ जेन्सन’ नाम दिइएको उक्त अभियानलाई टेस्लाका सीईओ इलन मस्क, एपिक गेम्सका सीईओ टिम स्विनी र वाई कम्बिनेटरका प्रमुख ग्यारी ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play