नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो हुरीबतास नचल्ने बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामका आधारमा मतदाताले मतदान गर्ने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था नरहेको जिकिर गरे । नयाँ राजनीतिक दलहरूले गरेका कामबारे पनि आम नागरिकले विस्तारै बुझ्दै गएको उनको भनाइ थियो । दाहालले स्थानीय तहमा पार्टीले राम्रो परिणाम ल्याउनका लागि नेता तथा कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । चुनाव जित्ने आत्मविश्वासका साथ संगठनात्मक रूपमा खटिन सके स्थानीय निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकिने उनले बताए । ‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । इतिहास र पृष्ठभूमि थाहा नभई भोट हाल्दैनन्,’ उनले भने । नयाँ राजनीतिक दलका गतिविधि र कामबारे नागरिकले विस्तारै बुझ्दै जाने उल्लेख गर्दै उनले गाउँघरमा पार्टीका कार्यकर्ताले आफ्ना धारणा र एजेन्डा बुझाउनुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सके देशलाई पुनः क्रान्तिको दिशामा अघि बढाउन सकिने दाहालको भनाइ थियो । उनले आम कार्यकर्ताको सक्रियता र मेहनतले निर्वाचनमा जित्ने सिट संख्या निर्धारण गर्ने भन्दै सबैलाई चुनाव केन्द्रित भएर लाग्न निर्देशनसमेत दिए ।
प्रचण्डले भने- स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैन

Read Complete Original Article
Published originally on पर्दाफास






