कास्की– पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको पाइएको छ । दुई महिनामा दुबई–पोखरा–दुबई उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिनुले यो विमानस्थलप्रति यात्रीको आकर्षण बढेको ठानिएको हो । फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म गरेको (दुई तर्फी १२२ उडान) दुबई–पोखरा–दुबई उडानमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ र यहाँबाट पाँच हजार ३५९ दुबई गएका पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानको सम्भावना बढाएको बताए । उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या बढ्न सक्ने बताए । नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौंस्थित भारतीय दूतावासबाट अनापत्ति प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । यसका लागि दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए । विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले पहिलोपटक नियमित अन्तरराष्ट्रिय उडान थालेको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उडानमा यात्रुको आकर्षण बढ्दै

Read Complete Original Article
Published originally on विश्वखबर






