काठमाडौं । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले २४ बलमा ५ चौका प्रहार गरे । ओपनर दिनेश खरेल ३, महेदी हसन ८, शाकिब अल हसन ९, अर्जुन घर्ती ७, किरण ठगुन्ना १५ र चमिका करुणारत्ने ४ रनमा आउट भए । विपिन आचार्यले २० रन बनाए । मोहम्मद सैफुद्दिनले खाता खोल्न सकेनन् । विपिन खत्री १७ र प्रतीक पोखरेल २ रनमा अविजित रहे । जनकपुरका स्पिनरले उत्कृष्ट बलिङ गरे । मोइन अलीले सर्वाधिक ३ विकेट लिए । कप्तान हर्मीत सिंह र सैफ हसनले समान २ तथा जिम्मी निशम र ललित राजवंशीले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि ओपनर त्रितराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा ७ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेटका लागि उनले मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए । मोइन १६ बलमा २१ रन बनाएर आउट भए । अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । सैफ हसन एक रनमा आउट हुँदा कप्तान हर्मीत सिंहले ९, जिम्मी निशमले ११ तथा अमरसिंह रौटेला र अनिलकुमार शाहले समान ९ रन बनाए । पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए ।
पोखरालाई ९ रनले हराउँदै जनकपुरको दोस्रो जित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






