काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज २०२६’मा नेपालका तर्फबाट पूर्णिमा शाही ठकुरी र सुनिता आचार्यले प्रतिनिधित्व गर्ने हुनुभएको छ । थाइल्यान्डको बैंककमा आगामी नोभेम्बर २० देखि आयोजना हुने प्रतियोगितामा पूर्णिमाले ‘मिस’ र सुनिताले ‘मिसेस’ विधामा प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालका लागि प्रतियोगिताको आधिकारिक संस्था ग्रीन आर्ट्स मिडियाले दुवै प्रतिस्पर्धीलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो । कार्यक्रममा २१ वर्षीया पूर्णिमालाई ‘मिस हेरिटेज नेपाल २०२६’ र ३३ वर्षीया सुनितालाई ‘मिसेस हेरिटेज नेपाल-२०२६’को ताज पहिर्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधिका रूपमा घोषणा गरिएको थियो । कर्णाली प्रदेशकी स्थायी बासिन्दा पूर्णिमा हाल स्नातक तहमा बीबीएस अध्ययनरत हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र प्रतिष्ठा उच्च राख्नेगरी प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगिताका लागि ग्रीन आर्ट्स मिडियाकी पेजेन्ट निर्देशक, कोरियोग्राफर तथा नेपाल निर्देशक अनिला श्रेष्ठले दुवै प्रतिस्पर्धीको मेन्टरसिप, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिको जिम्मेवारी सम्हाल्नुभएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान तथा ‘मिस इको इन्टरनेसनल २०२६’की टप १० फाइनलिस्ट सेजल राजभण्डारीको उपस्थिति थियो । सो अवसरमा ग्रीन आर्ट्स मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रवीनप्रसाद लाकौलले दुवै प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदा, सौन्दर्य र प्रतिभालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्णिमा र सुनिताले ‘मिस एण्ड मिसेज हेरिटेज-२०२६’मा नेपालको प्रतिनिधित्व गर्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






