कञ्चनपुर। नेपाली कांग्रेसका देउवा पक्षका नेता रमेश लेखकले पार्टीको वास्तविक प्रतिनिधित्वका लागि आफूहरू वडा तहदेखि नै संगठन विस्तारमा जुटेको बताएका छन् । उनले पार्टीभित्र एकता कायम गर्ने प्रयास सफल हुन नसकेपछि बाध्य भएर छुट्टै संगठन निर्माणको अभ्यासमा लागेको स्पष्ट पारेका छन् । कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले आफूहरूले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरे पनि सम्भव नभएपछि संगठनात्मक गतिविधिलाई अलग रूपमा अघि बढाउनुपरेको बताए । उनले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’ उनले वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने उद्देश्यसहित वडा तहदेखि नै संगठन निर्माण र कार्यकर्ता एकीकरणको काम गर्दै आएको उल्लेख गरे । अहिले जिल्ला अधिवेशन पनि त्यही अभियानको निरन्तरता भएको उनको भनाइ थियो । पार्टीका हरेक तहमा दुईवटा समिति बन्ने अवस्था सिर्जना भएको भन्दै लेखकले कांग्रेसको आन्तरिक अवस्था मात्र नभई समग्र राष्ट्रिय राजनीतिक परिस्थिति पनि सुखद् नरहेको बताए । कांग्रेस अहिले कठिन र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उनको टिप्पणी थियो । लेखकले पार्टी विभाजनको अवस्था लुकाउनुपर्ने विषय नभएको जिकिर गर्दै नेपाली कांग्रेसको आत्मा, विचार र भावना आफूहरूसँगै रहेको दाबी गरे । उनले कञ्चनपुरका नेता तथा कार्यकर्तालाई आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न आग्रहसमेत गरे ।
पार्टी एकता सम्भव नभएपछि छुट्टै संगठन बनाउन बाध्य भयौँ : रमेश लेखक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






