काठमाडौं । नेपाल राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिता यात्रा टुंगिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ५० बलको सामना गरेका मयन नेपालको अन्तिम विकेटका रूपमा आउट भएका थिए । त्यस्तै, बसिर अहमदले ११ रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना ब्याटर खाता नै नखोली आउट भए । पाकिस्तान शाहीन्सका लागि मोहम्मद हस्नेन र सुफ्यान मोकिमले समान तीन विकेट लिए । इमरान रान्धवाले दुई तथा माज सदाकतले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्स ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलको सामना गरेका थिए । त्यस्तै, हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन जोडे । नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए । यो उनको लिस्ट ‘ए’ करियरकै पहिलो पाँच विकेट प्रदर्शन हो । लिस्ट ‘ए’ मा डेब्यु गरेका अभिशेष गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो । यससँगै समूह ‘बी’ का तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ‘ए’ उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
पाकिस्तानसँग ९६ रनले पराजित हुँदै नेपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






