काठमाडौं।अष्ट्रेलियाको अर्थतन्त्रमा आर्थिक मन्दीको जोखिम ५० प्रतिशतको हाराहारीमा पुगेको म्याक्वेरी समूहले चेतावनी दिएको छ। वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीका अनुसार व्यवसायीहरूको कमजोर मनोबल र आर्थिक गतिविधिमा देखिएको सुस्तताले अर्थतन्त्र संकुचित हुने सम्भावना बढाएको हो। म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अष्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको औंल्याएका छन्। उनका अनुसार सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने जोखिम छ। डेभरेलका अनुसार व्यावसायिक सर्वेक्षणहरूले आर्थिक गतिविधिमा उल्लेख्य सुस्तताको संकेत गरेका छन्। म्याक्वेरीको आन्तरिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमानले चौथो त्रैमासिकमा संकुचनको सम्भावना न्यून देखाए पनि त्यसलाई पूर्ण रूपमा नकार्न सकिने अवस्था नरहेको उनले बताएका छन्। उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भएको वृद्धिका कारण घरपरिवारहरू आर्थिक दबाबमा परेका छन्। यसअघि एचएसबीसीका अष्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिकमा आर्थिक वृद्धि ठप्प हुन सक्ने र मन्दीको सम्भावना ५० प्रतिशत रहेको प्रक्षेपण गरेका थिए। सोमबार संघीय संसद्मा धारणा राख्दै अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी दुई वर्षसम्म वार्षिक जीडीपी वृद्धि दुई प्रतिशतभन्दा तल झर्न सक्ने बताएका छन्। यद्यपि, सरकार र केन्द्रीय बैंकले अर्थतन्त्र ऋणात्मक हुने अपेक्षा नगरेको उनले स्पष्ट पारे। चाल्मर्सले सन् २०२६ अष्ट्रेलियाका नागरिक र अर्थतन्त्रका लागि निकै कठिन वर्ष रहने उल्लेख गर्दै आगामी दिनमा थप चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। अष्ट्रेलियाको तथ्याङ्क विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीति तथ्याङ्क सार्वजनिक गर्दैछ। इन्धनको मूल्यवृद्धिका कारण मुद्रास्फीति उच्च रहने अनुमान गरिएको छ।
अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम ५० प्रतिशत नजिक

Read Complete Original Article
Published originally on नेपालन्युज






