बाजुरा । वर्षौंदेखि अलपत्र रहेका बाजुराका दुई महत्वपूर्ण पुलको ठेक्का रद्द गरिएको छ । बूढीगङ्गा नदीमाथिको मौरे पुल र बडीमालिका नगरपालिकास्थित ठूलीसाँघु खोलाको पुल निर्माणको जिम्मा लिएको कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरी पुनः निर्माण प्रक्रिया अघि बढाइएको हो । करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएका दुवै पुल तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीको चरम लापरबाहीका कारण अहिलेसम्म काम अघि बढ्न सकेको थिएन । २०७८ माघ ११ गते बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने मौरे पुल निर्माणका लागि महाकाली पुल योजना महेन्द्रनगरले काठमाडौंको बिकोई बिल्डर्स प्रालिसँग १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा सम्झौता गरेको थियो । २०८१ फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कम्पनीले काम सुरु नगरेपछि योजना कार्यालयले ठेक्का रद्द गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण कम्पनी अदालत पुगेको थियो । तर २०८३ साउनमा अदालतले योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि पुल निर्माणको प्रक्रिया पुनः अघि बढेको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले जानकारी दिए । त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाका अनुसार बूढीगङ्गा नदीमा पुल नहुँदा वर्षायाममा पालिकाको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । हिउँदमा समेत जोखिमपूर्ण खोला पार गर्नुपर्ने बाध्यता छ । मौरे पुल निर्माण भए बडीमालिका क्षेत्रको आवागमन सहज हुने उनको भनाइ छ । यसैगरी, सदरमुकाम मार्तडी नजिकै मार्तडी–घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठूलीसाँघु खोलामा निर्माण गर्ने भनिएको पुल पनि वर्षौंदेखि अलपत्र छ । २०७७ फागुन १० गते बिकोई बिल्डर्स प्रालिसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १६ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गर्ने योजना थियो । पुल नहुँदा वर्षायाममा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले आवागमनमा सास्ती खेप्दै आएका छन् । दुवै पुल एउटै निर्माण प्याकेजअन्तर्गत ठेक्का लगाइए पनि निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गर्नुपरेको सूचना अधिकारी शाहले बताए । अलपत्र दुवै पुलको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको छ । यसअघि दुवै आयोजनास्थलमा प्राविधिक टोली खटाएर स्थलगत परीक्षणसमेत गरिएको थियो । बाजुरामा पुल मात्र होइन, सडक निर्माणका आयोजना पनि ठेक्का सम्झौता भएर अलपत्र पर्ने समस्या छ । पूर्वाधार विकास कार्यालय अछामका अनुसार निर्माण कम्पनीले समयमै काम नगर्दा सडक स्तरोन्नति तथा कालोपत्रका लागि विनियोजित बजेटसमेत खर्च हुन नसकी फिर्ता हुने गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मार्तडी–कोल्टी सडकका लागि विनियोजित २० करोड रुपैयाँ र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको १३ करोड ५० लाख रुपैयाँ बजेट फिर्ता भएको थियो । मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवाले पाएको छ भने अर्को सडक निर्माणको जिम्मा केएसएम केबिसी/तेज जेभी, धनगढीले लिएको छ । सडक तथा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयको दैनिक जीवन प्रभावित बनेको छ । यातायात सेवा अवरुद्ध हुनुका साथै कृषि उत्पादन बजारसम्म पुर्याउन कठिनाइ र स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवामा पहुँचको समस्या हुने गरेको स्थानीयको गुनासो छ । विकास आयोजना समयमै सम्पन्न नहुँदा विनियोजित बजेट खर्च नहुने मात्र नभई नागरिकले वर्षौंदेखि सास्ती खेप्नुपर्ने अवस्था छ । निर्माण व्यवसायीलाई जवाफदेही बनाउने, नियमित अनुगमन गर्ने र अलपत्र आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पाँच वर्षदेखि अलपत्र बाजुराका दुई पुलको ठेक्का रद्द

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






