काठमाडौं । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ रोक्नलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले संचार मन्त्रालयलाई निर्देशन दिएको र सञ्चार मन्त्रालयले मौखिक जानकारी दिएको निर्माण टिमका एक सदस्यले बताए ।निर्माण टिमका एक सदस्यका अनुसार बाँके जिल्लाका सिडिओ दिलकुमार तामाङले प्रदर्शन रोक्नका लागि गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । ती सदस्यले भने, ‘बाँके जिल्लाको सिडिओले गृह मन्त्रालयलाई प्रदर्शन रोक्नलाई पत्राचार गरेको रहेछ । बाँके जिल्ला प्रशासनमा केही व्यक्तिहरू आएर प्रदर्शन रोक्न लगाएका रहेछन् ।’चलचित्रले महाभारतको गलत व्याख्या गरेको र द्रौपदीलाई आइटम गीत नचाएको भनेर सामाजिक संजालमा विवाद भइरहेको थियो । तर, चलचित्रले धार्मिक सहिष्णुता भड्काउने कोसिस नगरेको भनेर निर्माण टिमले सार्वजनिक रूपमा भनिसकेको छ । चलचित्रको सेन्सर पास समेत भइसकेको छ । सञ्चार मन्त्रालयअन्तर्गत रहेको सेन्सर जाँच पास समितिले युनिभर्सल सर्टिफिकेट दिइसकेको छ ।सरकारले पास गरिसकेको चलचित्रको प्रदर्शनलाई रोक्न नमिल्ने ती सदस्यले बताए । उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको कुरा पनि हो । कसैको अभिव्यक्तिमाथि अंकुश लगाउने कुरा हाम्रो संविधानले परिकल्पना गरेको छैन । प्रचारप्रसारमा लाखौं खर्च भइसकेपछि प्रदर्शन रोकिदिएर हामीलाई मार्ने काम गरिनुहुन्न ।’अहिले निर्माण टिमले निर्धारित मितिमै चलचित्र प्रदर्शनमा ल्याउने गरी सरकारसँग वार्ता गर्ने तयारी गरिरहेको छ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, दिपाश्री निरौला लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको पटकथा सुशील पौडेलले लेखेका हुन् भने निर्देशन वसन्त निरौलाले गरेका हुन् । यसैबीच सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र ‘पाँच पाण्डव’को निर्माण टिमलाई छलफलका लागि बोलाएको छ । ‘पाँच पाण्डव’को निर्माण टिमले सञ्चार मन्त्रालयले बिहीबार आज बिहान छलफलका लागि आफूहरूलाई बोलाएको बताएको छ । यसअघि मन्त्रालयले चलचित्र रोक्न विभिन्न संघसंस्थाबाट आग्रह आएकाले सुरक्षाका कारण रोक्नु पर्ने अवस्था आयो भन्दै पत्र बुझ्न आउनु भन्दै सञ्चार मन्त्रालयबाट फोन आएको ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलाले बताएका थिए ।
‘पाँच पाण्डव’ को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन, आज बिहान सञ्चार मन्त्रालयमा छलफल हुने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






