पर्सा । जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था र सेवाग्राही महिलाको सुविधालाई ध्यानमा राख्दै स्तनपान कक्षसमेत स्थापना गरेको छ। अदालतमा जफत भएका दुईवटा सवारीसाधन कार्यालयकै नाममा दर्ता गराउने प्रक्रिया अघि बढाउनाका साथै अदालतको भौतिक पूर्वाधार थप व्यवस्थित बनाउन ९ कट्ठा जग्गा प्राप्तिसम्बन्धी काम पनि अगाडि बढाइएको छ। त्यसैगरी, अदालत परिसरमा रहेको खाली स्थानलाई उपयोग गर्दै कम्प्युटर अपरेटर कक्षको व्यवस्था गरिएको छ भने भौतिक पूर्वाधार सुधारअन्तर्गत सबै इजलासमा एसी जडान गरिएको छ भने अदालत भवनको रङ्गरोगन तथा सौन्दर्यीकरण गरिएको छ। रजिस्ट्रार तथा स्रेस्तेदार मल्लिकले अदालतमा आउने सेवाग्राही, न्यायाधीश तथा कर्मचारीलाई सहज वातावरण उपलब्ध गराउनाका साथै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सुधारका कामलाई प्राथमिकता दिइएको जानकारी दिए। अदालतमा भइरहेको सुधारका कामले न्यायिक सेवा लिन आउने सर्वसाधारणलाई सहजता प्रदान गर्ने र अदालतको सेवा प्रवाहलाई थप सेवाग्राहीमैत्री बनाउने अपेक्षा अदालतको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार अदालतले ५७.६८ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो। अदालतका अनुसार दुई वर्ष नाघेका विचाराधीन मुद्दा २४०, अठार महिना नाघेका मुद्दा ३३, बालबालिकासम्बन्धी कुल मुद्दा ८२, बालबालिकासम्बन्धी फछ्र्योट ५४ र बालबालिकासम्बन्धी बाँकी २८ मुद्दा छन्।
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






