भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नौ वर्षदेखि रोकिएको रानीकोट गढीको पुरातात्विक उत्खनन पुनः सुरु गरी ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माण गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ र ८ मा अवस्थित रानीकोट गढी तथा घ्याम्पेडाँडा–रानीकोट सडकखण्डको अनुगमन गर्दै मुख्यमन्त्री थापामगरले ऐतिहासिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । पुरातत्व विभागले विसं २०७४ मङ्सिर १० देखि १६ गतेसम्म गरेको प्रारम्भिक उत्खननका क्रममा त्यहाँ मल्लकालीन दरबारका अवशेष, इँट्टा र झिँगटी फेला परेका थिए । थप उत्खनन गर्ने भन्दै रोकिएको काम नौ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन । मुख्यमन्त्री थापामगरले रानीकोट गढी उपत्यकाको प्राचीन बस्ती, तत्कालीन सुरक्षा व्यवस्था र ऐतिहासिक राजनीतिक गतिविधिसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै यसको थप अध्ययन, उत्खनन र संरक्षणमा जोड दिए । गढीको पुनःनिर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि उनले बताए । त्यस्तै, रानीकोट हुँदै काभ्रेपलाञ्चोकको पनौती जोड्ने छोटो सडकको भक्तपुर खण्डअन्तर्गत घ्याम्पेडाँडा–रानीकोट सडक वर्षाका कारण जीर्ण बनेको भन्दै उनले यसको स्तरोन्नतिका लागि पहल गर्ने बताए । यसका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय गरिने उनको भनाइ थियो । अनुगमनका क्रममा स्थानीय पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले सडकको जीर्ण अवस्थाका कारण पर्यटकको आवागमन प्रभावित भएको जानकारी गराए । उनले रानीकोट गढीको उत्खनन र संरक्षणसँगै यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले घ्याम्पेडाँडा–रानीकोट सडक स्तरोन्नति गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उक्त सडकमा दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने उल्लेख गर्दै उनले काभ्रेपलाञ्चोकतर्फ सडक स्तरोन्नतिको काम भइरहेको जानकारी दिए ।
नौ वर्षदेखि रोकिएको रानीकोट गढी पुनः उत्खनन सुरु गर्न मुख्यमन्त्री थापामगरको पहल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



_OnvrtcyBPV.jpg)
.jpg)
