काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले मुख्य व्यवसाय (बीमाशुल्क आर्जन) र जीवन बीमा कोषमा उल्लेख्य विस्तार गरे तापनि खुद नाफामा आएको सङ्कुचनका कारण प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ भने मूल्य आम्दानी अनुपात (पिइ रेसियो) उच्च देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) १.४७ रुपैयाँ अर्थात् १४.२७ प्रतिशतले घटेर ८.८३ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको इपिएस १०.३० रुपैयाँ रहेको थियो । नाफा खुम्चिएसँगै इपिएस घटेपछि दोस्रो बजारमा कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ६४.८९ गुणा पुगेको छ । हालको आम्दानीको तुलनामा नेसनल लाइफको सेयर मूल्य महँगो देखिन्छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.१९ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १०.७९ प्रतिशतले घटेको हो । नाफा र इपिएसमा सामान्य दबाब देखिए पनि कम्पनीको आधारभूत अवस्था र व्यवसाय विस्तार भने बलियो देखिएको छ । असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा ३०.१३ प्रतिशतले बढेर ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ मात्र थियो । यसैगरी, कुल बीमाशुल्क आर्जन पनि २९.३१ प्रतिशतको वृद्धिसहित ७ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । जीवन बीमा कम्पनीको मेरुदण्ड मानिने जीवन बीमा कोष पनि १५.८२ प्रतिशतले विस्तार भई १ खर्ब ८ अर्ब ४५ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको थियो । हाल ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा तथा कोषहरूमा पनि सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीको रिटेन्ड अर्निङ (सञ्चित नाफा) अघिल्लो असारको ४८ करोड ९८ लाख रुपैयाँबाट २३.५० प्रतिशतले बढेर ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको लाभांश क्षमतालाई बलियो बनाएको छ । यसैगरी, महाविपत्ति कोष १.६९ प्रतिशतले बढेर ७५ करोड ८५ लाख रुपैयाँ (अघिल्लो असारमा ७४ करोड ५९ लाख) र अन्य इक्विटी ३.५२ प्रतिशतले बढेर ३२ करोड ६७ लाख रुपैयाँ (अघिल्लो असारमा ३१ करोड ५६ लाख) पुगेको छ । यस्तै, शेयर प्रिमियममा भने २ करोड ७८ लाख रुपैयाँ यथावत (स्थिर) रहेको वित्तीय विवरणमा उल्लेख छ । यो पनि पढ्नुहोस प्रमुख जीवन बीमा कम्पनीको वित्तीय चित्र : व्यापार र कोषमा फड्को तर प्रतिसेयर आम्दानी ओरालो
नेसनल लाइफको नाफा १०.७९% र इपिएस १४.२७% ले खुम्चियो, मूल्य आम्दानी अनुपात पनि उच्च

Read Complete Original Article
Published originally on टक्सार






