काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब १८ महिनासम्म ब्याज तथा सेवाशुल्कबिना किस्ताबन्दीमा सामान खरिद गर्न पाउने भएका छन् । बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल बैंकले फिन्तारा सोलुसन्स प्रालिसँग सहकार्य गर्दै बीएनपीएल प्लेटफर्ममार्फत यस्तो सुविधा सुरु गरेको हो । सम्झौताअनुसार नेपाल बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले ‘बाइ नाउ पे लेटर’ सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दीमा विभिन्न सामान खरिद गर्न सक्नेछन् । यस सुविधाअन्तर्गत ग्राहकले कुनै पनि ब्याज तथा सेवाशुल्क तिर्नुपर्ने छैन । यससम्बन्धी सम्झौतामा कात्तिक १६ गते काठमाडौंस्थित नेपाल बैंकको प्रधान कार्यालयमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका छन् । नेपाल बैंक यही कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले छिटोछरितो तथा गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोगमार्फत बैंकिङ सेवालाई थप सहज र प्रविधिमैत्री बनाउँदै लगेको बैंकले जनाएको छ ।
नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्म ब्याजरहित किस्ताबन्दीमा सामान किन्न पाउने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






