काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मङ्सिर ११ गते बसेको सञ्चालक समितिको ६३७औं बैठकले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको कुल चुक्ता पुँजी रु. २० अर्ब पुर्याउन नेपाल सरकारको विद्यमान सेयर स्वामित्व (४४.०३९ प्रतिशत) नघट्ने गरी हकप्रद सेयरमा लगानी गर्न सहमति प्राप्त भएको कम्पनीले जनाएको छ । सोही सहमति अनुसार चालू आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट रु. १ अर्ब रकम सेयर लगानीका लागि प्राप्त हुने कम्पनीले जनाएको छ । उक्त रकमको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनी सचिव शुस्मा गौतमद्वारा जारी सूचनामा उल्लेख छ । साधारण सभाबाट पारित भएपछि र नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात् कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ । यसअघि अर्थ मन्त्रालयले तत्काल थप लगानी गर्न नसक्ने जनाएपछि कम्पनीको पुँजी वृद्धिको प्रक्रिया लामो समयदेखि रोकिएको छ । तर, गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारको विद्यमान सेयर स्वामित्व (४४.०३९ प्रतिशत) नघट्ने गरी हकप्रद सेयरमा लगानी गर्न सैद्धान्तिक स्वीकृति दिएसँगै नेपाल रिइन्स्योरेन्सलाई पुँजी वृद्धिको बाटो खुलेको हो । नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८० माघमा निर्देशन जारी गर्दै पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी रु. २० अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । प्राधिकरणले सुरुमा २०८१ माघ मसान्तसम्मको एक वर्षे समयसीमा तोकेकोमा पुँजी नपुगेपछि म्याद थप गरी २०८२ माघ मसान्तसम्म पुर्याएको थियो । उक्त अवधिमा समेत सरकारी निर्णयको अभावमा पुँजी वृद्धि हुन नसकेपछि प्राधिकरणले पुनः एक वर्षको समयसीमा थप गर्ने प्रक्रिया अघि बढाएको थियो । हाल रु. १३ अर्ब ४२ करोड चुक्ता पुँजी रहेको नेपाल पुनर्बीमा कम्पनीलाई प्राधिकरणले तोकेको रु. २० अर्बको सीमा भेट्टाउन कुल करिब ४९ प्रतिशत (रु. ६ अर्ब ५८ करोड) पुँजी थप गर्नुपर्ने छ । सोही लक्ष्य पूरा गर्ने पहिलो चरणअन्तर्गत कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव अघि सारेको हो।
नेपाल पुनर्बीमा कम्पनीद्वारा १६.९१% हकप्रद सेयर निष्कासनकाे तयारी,साधारण सभामा प्रस्ताव पेश हुने

Read Complete Original Article
Published originally on टक्सार






