काठमाडौं । नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको उक्त कार्यक्रम ‘टीभीएस एनटर्क प्रिजेन्ट्स’का रूपमा प्रस्तुत गरिनेछ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमलाई स्तरीय र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचानलाई मुख्य प्राथमिकता दिइनेछ । कार्यक्रममा प्रतिस्पर्धा, मार्गदर्शन र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई विशेष महत्त्व दिइनेछ । स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाली युवापुस्तामाझ लोकप्रिय हुँदै गएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यले टीभीएस एनटर्कले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ सोचसँग जोडिएको टीभीएस एनटर्कको यस सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ‘गल्लीदेखि गौरवसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ले नेपाली हिप–हप प्रतिभालाई राष्ट्रियस्तरको ठूलो मञ्च प्रदान गर्नुका साथै नेपाली संगीत क्षेत्रका नयाँ सम्भावना उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । कार्यक्रम प्रसारण हुने मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
नेपाली हिप–हपलाई नयाँ मञ्च दिँदै ‘हसल बाई नेपहप’, टाइटल स्पोन्सरमा टीभीएस एनटर्क

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






