काठमाडौं । विपद्को जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ। सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा उक्त परीक्षण गरिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो। परीक्षणका क्रममा काठमाडौंका निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना पठाइएको थियो। सन्देश प्राप्त हुँदा मोबाइलमा विशेष चेतावनी ध्वनि र कम्पनसमेत आएको थियो। सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यसका लागि इन्टरनेट वा व्यक्तिगत मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने आवश्यकता पर्दैन। यस प्रविधिको विशेषता भनेको नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत लक्षित क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक सूचना प्रवाह गर्न सक्नु हो। साथै, प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण सङ्कलन नगरी सूचना पठाउन सकिन्छ। यस प्रणालीबाट बाढी, पहिरो, हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा प्रतिकूल मौसमजस्ता विपद्का जोखिमबारे पूर्वसूचना र आवश्यक सुरक्षा निर्देशन नागरिकसम्म समयमै पुर्याउन सकिने अपेक्षा गरिएको छ। प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यसले विपद्का समयमा नागरिकलाई सचेत गराउन र सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

Read Complete Original Article
Published originally on नेपालन्युज






