काठमाडौं । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्राण्ड द पोस्टकार्ड होटलले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । उक्त ब्राण्डले चितवनको राप्ती नदी किनारमा निर्माण गरेको ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ यही नोभेम्बरदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको राप्ती नदीको सुन्दर किनारमा अवस्थित उक्त रिसोर्टमा २२ वटा लक्जरी कोठा तथा सुइट रहने बताइएको छ । प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र उच्चस्तरीय आतिथ्य सेवाको संयोजन रहने रिसोर्टले नेपालको तराई क्षेत्रलाई अन्तर्राष्ट्रिय लक्जरी पर्यटन बजार थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । नेपालमा नयाँ होटल सञ्चालनसँगै भारत, भुटान र श्रीलंकामा उपस्थिति जनाइसकेको द पोस्टकार्ड होटल चौथो देशमा विस्तार हुनेछ । कम्पनीले विशेष प्राकृतिक तथा सांस्कृतिक पहिचान बोकेका गन्तव्यमा गुणस्तरीय बुटिक होटल सञ्चालन गर्ने रणनीतिअनुसार नेपाललाई आफ्नो नयाँ गन्तव्यका रूपमा छनोट गरेको हो । सन् १९८४ मा युनेस्कोको विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदामध्ये एक हो । एकसिंगे गैँडा, बाघ, चितुवा, भालु तथा घडियाल गोहीलगायतका वन्यजन्तुको बासस्थान रहेको उक्त क्षेत्रमा पाँच सय २५ भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् । सन् २०२१ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन र आसपासका क्षेत्रमा छ सय ९४ गैँडा रहेका छन् । जसले चितवनलाई वन्यजन्तु संरक्षण र प्रकृतिमा आधारित पर्यटनका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरेको छ । सोही प्राकृतिक परिवेशलाई होटलको मुख्य आकर्षण बनाइएको छ । रिसोर्टका २२ वटै कोठा तथा सुइट १३ सय वर्गफिटदेखि सुरु हुनेछन् भने प्रत्येक कोठामा नदी वा जंगलको दृश्य अवलोकन गर्न सकिने निजी सिटआउट व्यवस्था गरिएको छ । त्यस्तै पाँच हजार वर्गफिट क्षेत्रफलमा फैलिएको दुई बेडरुमसहितको प्रेसिडेन्सियल सुइटमा निजी स्विमिङ पुल, पर्याप्त खुला क्षेत्र र विशेष गोपनीयताको सुविधा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलको वास्तुकला स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबाट प्रेरित छ । होटल प्रवेश गर्नेक्रममा पाहुनाले स्तुपालाई केन्द्रमा राखेर निर्माण गरिएको टेम्पल कोर्टको अनुभव लिन सक्नेछन् । रिसोर्टमा पाहुनाका लागि खानपान तथा मनोरञ्जनका विशेष सुविधा पनि उपलब्ध हुने र जंगलको दृश्य देखिने अग्लो डेकमा रहेको ‘ट्री टप्स’ रेस्टुरेन्ट तथा बारमा इनडोर र आउटडोर डाइनिङको व्यवस्था हुनेछ । रिसोर्टमा स्विमिङ पुल, स्पा ट्रिटमेन्ट रुम, स्टिम रुम तथा साउना सुविधा पनि रहनेछन् । स्विमिङ पुलनजिकै निर्माण गरिएको अग्लो भ्यु डेकबाट वरपरको जंगल, नदी र प्राकृतिक दृश्यावलोकन गर्न सकिनेछ । होटलले पाहुनालाई रिसोर्टभित्रको लक्जरी अनुभवमा मात्र सीमित नराखी चितवनको प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग परिचित गराउने विभिन्न गतिविधि पनि सञ्चालन गर्नेछ ।नेपाल प्रवेशलाई ब्राण्डको रणनीतिक विस्तारका रूपमा लिइएको द पोस्टकार्ड होटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले नेपालमा नयाँ रिसोर्ट सञ्चालनलाई ब्राण्डको मूल अवधारणासँग जोडिएको महत्त्वपूर्ण विस्तारका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरू प्रायः प्रचलित पर्यटन मार्गभन्दा बाहिर रहेका हुन्छन् । त्यस्ता गन्तव्यको मौलिक पहिचान कायम राख्दै तिनको विशेषता विश्वसामु प्रस्तुत गर्नु ब्राण्डको प्रमुख उद्देश्य हो । द पोस्टकार्ड अन द राप्ती रिभरकी संस्थापक सवाना वैद्य बस्न्यातले चितवनको प्राकृतिक तथा सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय पर्यटन बजारमा परिचित गराउनु परियोजनाको प्रमुख उद्देश्य रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मेरा बुबा सुरज र मैले द पोस्टकार्ड अन द राप्ती रिभरलाई साकार रूप दिन वर्षौँदेखि मिहिनेत गर्दै आएका छौं । पहिलोपटक नदीको यो सुन्दर घुम्ती, वरपरको जंगल र टाढासम्म फैलिएका पहाड देख्दा नै हामीले एउटा विशेष ठाउँ भेट्टाएको महसुस गरेका थियौं ।’ द पोस्टकार्ड होटलका लागि सन् २०२६ उपलब्धिमूलक वर्षका रूपमा रहेको छ । जसले सेप्टेम्बर २०२६ मा माल्दिभ्समा आयोजित ‘वर्ल्ड ट्राभल अवार्ड्स एसिया, ओसियानिया एण्ड इण्डियन ओसन गाला समारोह’ मा १२ वटा अवार्ड प्राप्त गरेको थियो । द पोस्टकार्ड अन द राप्ती रिभरमा सुइटको मूल्य प्रतियुनिट प्रतिरात नेपाली रुपैयाँ एक लाख ३६ हजारदेखि सुरु हुने बताइएको छ ।
नेपालमा पनि हस्पिटालिटी सेवा दिँदै ‘द पोस्टकार्ड’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






