Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेपालमा आईआईटी क्याम्पसः स्थापना कसरी हुन्छ, विद्यार्थीले के पाउँछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा आईआईटी क्याम्पसः स्थापना कसरी हुन्छ, विद्यार्थीले के पाउँछन् ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध भारतीय प्रविधि संस्थान (आईआईटी)को अफसोर क्याम्पस स्थापना गर्ने सहमतिसँगै यसको कानुनी प्रक्रिया, सञ्चालन मोडेल र विद्यार्थीले पाउने अवसरबारे चासो बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएपछि नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ सम्भावनाको अपेक्षा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटी क्याम्पस स्थापना गर्ने घोषणा गर्नुका साथै दुई देशबीच जारी संयुक्त प्रेस वक्तव्यमा समेत यस विषयलाई समेटिएको छ । यससँगै नेपाल विदेशमा आईआईटीको क्याम्पस स्थापना हुने तेस्रो देश बन्ने भएको छ । यसअघि आईआईटी मद्रासले सन् २०२३ मा तान्जानियाको जान्जिबार र आईआईटी दिल्लीले सन् २०२४ मा संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा क्याम्पस स्थापना गरिसकेका छन् । तर, राजनीतिक तहमा भएको सहमतिलाई व्यवहारमा उतार्न कानुनी तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार अहिले यो विषय उच्चस्तरीय राजनीतिक सहमतिको चरणमा छ । क्याम्पस स्थापना र सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया भने बाँकी नै छ । कस्तो हुन्छ सञ्चालन मोडेल ? नेपालमा अहिले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर करिब ५६ देखि ५९ वटा कलेज सञ्चालनमा छन् । यस्ता कलेजमा नेपाली निजी क्षेत्रले लगानी तथा व्यवस्थापन गर्छ भने विदेशी विश्वविद्यालयले पाठ्यक्रम, परीक्षा प्रणाली र प्रमाणपत्र उपलब्ध गराउँछ । तर, अफसोर क्याम्पस यसभन्दा फरक हुन्छ । यसमा विदेशी विश्वविद्यालयले अर्को देशमा आफ्नै आधिकारिक शाखा स्थापना गरी प्रत्यक्ष रूपमा सञ्चालन गर्छ । विद्यार्थी भर्ना, पाठ्यक्रम, प्राध्यापक नियुक्ति, परीक्षा र डिग्री प्रदान गर्ने जिम्मेवारी मूल विश्वविद्यालयकै हुन्छ । नेपालमा आईआईटी सञ्चालनका लागि पूर्ण स्वामित्व, संयुक्त लगानी र संस्थागत साझेदारी गरी तीनवटा सम्भावित मोडेलमा अघि बढ्न सकिन्छ । पूर्ण स्वामित्वको मोडेलमा भारतीय आईआईटीले आफ्नै लगानीमा पूर्वाधार निर्माण गरी सञ्चालन गर्नेछ । संयुक्त लगानीमा नेपाल सरकार वा नेपाली संस्थासँग साझेदारी हुन सक्छ भने संस्थागत साझेदारीमा नेपाली विश्वविद्यालयसँग मिलेर अनुसन्धान केन्द्र, प्रयोगशाला तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यद्यपि, कुन मोडेल अपनाउने भन्ने विषय औपचारिक रूपमा टुंगिन बाँकी छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विदेशी विश्वविद्यालयका क्याम्पस सञ्चालनका लागि नेपालमा प्रचलित नीतिअन्तर्गत नै आईआईटी स्थापना गर्न सकिने बताउँछन् । उनका अनुसार संयुक्त साझेदारीको मोडेल उपयुक्त हुन्छ । तर, विदेशी पाठ्यक्रम जस्ताको तस्तै ल्याएर पढाउनुभन्दा नेपालको आवश्यकता र परिवेशअनुसार परिमार्जन तथा समायोजन गर्नुपर्नेमा उनले जोड दिएका छन् । कोइरालाका अनुसार भारतको आईआईटीको पाठ्यक्रम नेपालमा ल्याएर अध्यापन गराउँदा नेपाली आवश्यकतासँग जोड्न केही अप्ठ्यारो हुन सक्छ । त्यसैले नेपालकै विश्वविद्यालयका पाठ्यक्रमलाई स्तरीय बनाउँदै आईआईटीको समकक्षी बनाउन सके अझ राम्रो हुने उनको सुझाव छ । आईआईटी क्याम्पसलाई विद्यार्थीको पहुँचमा पुर्‍याउन मेधावी विद्यार्थीलाई छात्रवृत्ति, आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क अध्ययनको अवसर र स्थानीय तहबाट लगानी गर्ने व्यवस्था व्यावहारिक हुने कोइरालाको भनाइ छ । प्रतिस्पर्धाभन्दा सहकार्यको सोच आवश्यक रहेको उल्लेख गर्दै उनले आईआईटीसँगको सम्बन्धलाई नेपाली विश्वविद्यालयको क्षमता विकास र शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार रोजगारी राज्य र निजी क्षेत्रले दिने अवसर हो भने गुणस्तरीय शिक्षाले उद्यमी बन्ने क्षमता विकास गर्छ । कामप्रतिको संस्कृतिले काममा नाम जोड्ने र उपलब्ध सुविधाको तुलनाले देशमै बस्ने वा विदेश जाने निर्णयमा प्रभाव पार्ने भएकाले यी सबै पक्षलाई सँगसँगै ध्यान दिनुपर्ने उनको भनाइ छ । विद्यार्थीका लागि अवसर र चुनौती नेपालमा आईआईटी क्याम्पस स्थापना भएमा विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा आफ्नै देशमा प्राप्त गर्न सक्नेछन् । विशेषगरी इन्जिनियरिङ, कम्प्युटर साइन्स, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा र प्रविधिसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धानका अवसर विस्तार हुन सक्छन् । यसले उच्च प्राविधिक जनशक्ति उत्पादन, अनुसन्धान, स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या घटाउन सहयोग पुर्‍याउन सक्छ । साथै, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण देशभित्रै उपलब्ध हुँदा विद्यार्थीले तुलनात्मक रूपमा कम खर्चमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने सम्भावना पनि बढ्नेछ । तर, यी अवसरको वास्तविक लाभ लिन क्याम्पसको शुल्क, छात्रवृत्ति, भर्ना प्रक्रिया, पाठ्यक्रम र शैक्षिक कार्यक्रमबारे स्पष्ट नीति आवश्यक हुनेछ । विद्यार्थीको आर्थिक पहुँच र शिक्षाको गुणस्तरलाई सँगसँगै अघि बढाउनुपर्ने चुनौती पनि उत्तिकै छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी)का अध्यक्ष प्रा.डा. खड्ग केसीले नेपालमा प्रतिष्ठित विदेशी विश्वविद्यालयको अफसोर क्याम्पस सञ्चालनलाई सकारात्मक रूपमा लिँदै गुणस्तर र नियमनमा भने कडाइ गर्नुपर्ने बताएका छन् । उनका अनुसार नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कतिपय कलेज गुणस्तरीय शिक्षा प्रदान गर्नुभन्दा व्यापार प्रवर्द्धनमा बढी केन्द्रित देखिएका छन् । विश्व वरीयतामा एक हजारभित्र नपर्ने विश्वविद्यालयबाट समेत सम्बन्धन लिएर कलेज सञ्चालन भइरहेको अवस्थामा प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालयको आगमनले नेपालको प्राविधिक शिक्षाको गुणस्तर सुधार्न महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको भनाइ छ । नेपालमा विदेशी सम्बन्धन प्राप्त कलेज सञ्चालनलाई व्यवस्थित गर्न सरकारले सम्बन्धित विदेशी विश्वविद्यालय विश्व वरीयताको एक हजारभित्र हुनुपर्ने, विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)सम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने तथा छात्रवृत्ति र धरौटीसम्बन्धी व्यवस्था लागू गरेको छ । यद्यपि, यी प्रावधानको कार्यान्वयन भने पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन । आईआईटीजस्तो उच्च गुणस्तर र अन्तर्राष्ट्रिय पहिचान बनाएको संस्थाको अफसोर क्याम्पस नेपालमा सञ्चालन हुँदा शैक्षिक गुणस्तरमा समस्या नहुने विश्वास व्यक्त गर्दै केसीले कानुनी प्रक्रियाको पालना अनिवार्य रहेको बताएका छन् । उनले भने, ‘यो अफसोर क्याम्पसप्रति मेरो धारणा सकारात्मक छ । उच्च गुणस्तरको विश्वविद्यालय भएकाले गुणस्तरको विषयमा समस्या नहोला तर, प्रक्रियामा यूजीसीसँग समन्वय हुनैपर्छ भन्ने ऐनमै प्रावधान भएकाले मेरो विचार पनि त्यही हो ।’ अफसोर क्याम्पस सञ्चालनका क्रममा विश्वविद्यालय अनुदान आयोगसँग समन्वय गर्नुपर्ने कानुनी प्रावधान रहेकाले त्यसलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने उनको भनाइ छ । नेपालमा आईआईटी क्याम्पस स्थापना गर्ने सहमति विदेशी संस्थाको शाखा खोल्ने विषयमा मात्र सीमित छैन । यसलाई नेपालको उच्च शिक्षा प्रणाली सुधार्ने, अनुसन्धानको दायरा विस्तार गर्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ । तर, प्रतिष्ठित विश्वविद्यालयको नाम र अन्तर्राष्ट्रिय पहिचान मात्रले अपेक्षित उपलब्धि हासिल हुँदैन । विद्यार्थीलाई सुलभ शुल्कमा गुणस्तरीय शिक्षा, छात्रवृत्ति, अनुसन्धानको अवसर र स्वदेशमै रोजगारी तथा उद्यमशीलताको वातावरण उपलब्ध गराउन आवश्यक छ । नेपाली विश्वविद्यालयको क्षमता विकास र शैक्षिक संस्थाबीच सहकार्यको वातावरण निर्माण गर्न सके आईआईटीको आगमनले नेपालको उच्च शिक्षा क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ । त्यसका लागि राजनीतिक सहमतिलाई पारदर्शी कानुनी प्रक्रिया, प्रभावकारी नियमन र व्यावहारिक कार्यान्वयनमा रूपान्तरण गर्नु आवश्यक देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कहिले हुन्छ गण्डकीमा शतप्रतिशत विद्युतीकरण ? उर्जामन्त्रीको यस्तो घोषणा
Latest NewsJust now

कहिले हुन्छ गण्डकीमा शतप्रतिशत विद्युतीकरण ? उर्जामन्त्रीको यस्तो घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन् । बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उनले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्‍याउने लक्ष्य रहेको बताए । यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको […] ...

लोकपथ
अब स्थानीय तहमा कांग्रेसबाट टिकट लिनेले  ‘रिकल’ र अनियमितता भए हट्ने लिखित प्रतिबद्धता गर्नुपर्ने
Latest NewsJust now

अब स्थानीय तहमा कांग्रेसबाट टिकट लिनेले  ‘रिकल’ र अनियमितता भए हट्ने लिखित प्रतिबद्धता गर्नुपर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरूले टिकट लिने समयमै अनुशासन र कार्यसम्पादनसम्बन्धी लिखित प्रतिबद्धता गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय... ...

रातोपाटी
कर्णाली डेभलपमेन्टको पुँजी ५ अर्ब पुर्‍याइने, अपचलनमा संलग्नको सेयर एक प्रतिशतमा सीमित
Latest NewsJust now

कर्णाली डेभलपमेन्टको पुँजी ५ अर्ब पुर्‍याइने, अपचलनमा संलग्नको सेयर एक प्रतिशतमा सीमित

अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिने भएको हो । ...

कान्तिपुर
घुस नलिने ट्राफिक प्रहरीलाई नगद पुरस्कारसहित सम्मान
Latest NewsJust now

घुस नलिने ट्राफिक प्रहरीलाई नगद पुरस्कारसहित सम्मान

कैलाली । कैलालीमा घुस रकम अस्वीकार गर्दै घुस दिन खोज्ने सवारी चालकलाई नियन्त्रणमा लिने दुई जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले प्रहरी जवान राजेन्द्र चन्द र सहायक हवलदार केशवबहादुर बोहरालाई पुरस्कृत गरेका हुन्। सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीस्वरूप चिट काट्न खोज्दा उनीहरूले ट्राफिक प्रहरीलाई घुस दिन खोजेका थिए। तर, दुवै प्रहरीले घुस ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement