एजेन्सी । मिस युनिभर्स भियतनाम २०२६ को उपाधि जितेको ४८ दिनमै क्विन्ह एन गुयेनले आफ्नो ताज गुमाउनुभएको छ । निजी च्याटका स्क्रिनसट सार्वजनिक हुनु र आयोजकले लगाएको निलम्बनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा आयोजक कम्पनीले उहाँको उपाधि औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो । क्विन्हले गत अक्टोबर २ मा हाई फोङमा आयोजित प्रतियोगितामा मिस युनिभर्स भियतनाम २०२६ को उपाधि जित्नुभएको थियो । तर, उपाधि जितेको केही दिनमै उहाँ विवादमा तानिनुभयो । प्रतियोगिताकी पहिलो रनरअप त्रिन्ह माई एन र क्विन्हबीच भएको भनिएको निजी कुराकानीका स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको थियो । सार्वजनिक स्क्रिनसटमा प्रतियोगिताका अन्य प्रतिस्पर्धी तथा प्रतियोगितासँग सम्बन्धित केही व्यक्तिबारे अपमानजनक टिप्पणी गरिएको दाबी गरिएको थियो । त्यसपछि प्रतियोगिताको आयोजक कम्पनी फाइभ ६ इन्टरटेनमेन्टले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । कम्पनीले क्विन्हलाई ६ महिनासम्म प्रतियोगितासँग सम्बन्धित गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । विवाद सार्वजनिक भएपछि क्विन्हले आफ्नो व्यवहारप्रति माफीसमेत माग्नुभएको थियो । तर, आयोजक कम्पनीका अनुसार निलम्बनमा रहेकै अवस्थामा क्विन्हले कम्पनीको अनुमति नलिई विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै व्यावसायिक निमन्त्रणा स्वीकार गर्नुभएको थियो । उहाँले अर्को व्यवस्थापन कम्पनीले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाएको र आयोजकसँग पूर्वसहमति नगरी विशेष सम्झौताको घोषणा गरेको कम्पनीको आरोप छ । क्विन्हका यस्ता गतिविधिले विभिन्न भ्रम सिर्जना गर्नुका साथै प्रतियोगिताको प्रतिष्ठामा समेत असर पुगेको आयोजक कम्पनीले जनाएको छ । यता, क्विन्हले आफूलाई आराम गर्न तथा मानसिक स्वास्थ्योपचार गराउन आवश्यक रहेको जानकारी संस्थालाई गराउनुभएको थियो । उहाँले यसअघि नै तय भएका कार्यक्रमनुसार सम्झौताका जिम्मेवारी पूरा गर्न आफू असमर्थ रहेको समेत बताउनुभएको थियो । आयोजक कम्पनीले नोभेम्बर १८ देखि लागू हुनेगरी क्विन्हको उपाधि औपचारिक रूपमा फिर्ता लिएको जनाएको छ । यद्यपि, उहाँको स्थानमा अब कसलाई उपाधि प्रदान गरिने भन्नेबारे आयोजकले निर्णय सार्वजनिक गरेको छैन । क्विन्हले सन् २०१८ मा ‘द फेस भियतनाम’ प्रतियोगितामा पहिलो रनरअप बनेर चर्चा कमाउनुभएको थियो । त्यसैगरी, सन् २०२१ मा उहाँले एसियन सुपरमोडल प्रतियोगिताको उपाधिसमेत जित्नुभएको थियो । तर, यसपटक मिस युनिभर्स भियतनामको उपाधि जिते पनि विवादका कारण उहाँको ताजको यात्रा ४८ दिनमै समाप्त भएको छ ।
निजी च्याटका स्क्रिनसटले खोस्यो मिस युनिभर्स भियतनामको ताज

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






