काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर निरन्तररूपमा घटिरहेको छ । मंसिर महिनाका लागि पनि २० वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ३.९० प्रतिशतमा झरेको छ । कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतले घटेर ३.९०६ प्रतिशतमा झरेको हो । त्यसैगरी संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट ०.०१२५ प्रतिशत घटेर २.९९०५ प्रतिशतमा झरेको छ । मंसिर महिनाका लागि छवटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले पनि ०.५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशतमा झारेको छ । एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशतमा झारेको छ भने लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतले घटाएर ३.७५, कुमारी बैंकले ०.०९ प्रतिशतले घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले घटाएर ३.६५ प्रतिशतमा झारेका छन् । सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ पुरानै ३.५१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ भने प्रभु बैंकको ४.२५, नेपाल बैंकको ४.१५, हिमालयन बैंकको चार, एनआइसी एसिया बैंकको चार, राष्ट्रिय वाणिज्य बैंकको चार, नेपाल एसबिआई बैंकको चार, प्राइम कमर्सियल बैंकको चार र ग्लोबल आइएमई बैंकको ब्याजदर चार प्रतिशत रहेको छ ।
निक्षेपको ब्याजदर घटेर तीन प्रतिशत नजिक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






