काठमाडौं– चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनप्र्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार उक्त निर्देशिकामा स्रोतहरूको पुनर्प्रयोग प्रणाली विकासका लागि १६ वटा प्रमुख कार्य समेटिएका छन् । निर्देशिकामा विशेषगरी विद्युतीय सवारीसाधन, लिथियम-आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनबाट निस्कने ठोस फोहोरको संकलन, व्यवस्थापन तथा विघटन प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । यी तीन क्षेत्रलाई चीनले ‘नयाँ तीन’ (न्यू थ्री) का रूपमा वर्गीकरण गरेको छ । स्थानीय अवस्थाअनुसार विभिन्न प्रकारका पुनर्प्रयोग मोडल छनोट तथा कार्यान्वयन गर्न पनि निर्देशिकाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसअन्तर्गत विभिन्न प्रकारका नवीकरणीय स्रोत, ठूला तथा पुराना फर्निचर र प्रयोगविहीन घरेलु विद्युतीय उपकरणको व्यवस्थापनलाई समेटिएको छ । त्यसैगरी ‘नयाँ तीन’ अन्तर्गतका उत्पादनबाट निस्कने ठोस फोहोरको पुनप्र्रयोग तथा व्यवस्थापनका लागि समग्र योजना अघि सारिएको छ । विशेषगरी विद्युतीय सवारीसाधनका पावर ब्याट्री व्यवस्थापनमा देखिएका कमजोरी हटाउने, फोटोभोल्टिक उपकरणको पुनर्प्रयोग तथा उपयोग प्रणाली सुधार गर्ने र उत्पादनदेखि पुनप्र्रयोगसम्मको सम्पूर्ण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य निर्देशिकाले लिएको छ । यसका लागि उत्पादनको डिजाइन, निर्माण, प्रयोग, संकलन, व्यवस्थापन, विघटन तथा पुनःप्रयोगसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित र सहज बनाउनेमा जोड दिइएको छ । निर्देशिका जारी गर्ने नौ सरकारी निकायमा चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयलगायतका विभाग रहेका छन् । चीनले यस कदममार्फत स्रोतसाधनको दिगो उपयोग र फोहोर व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य राखेको छ ।
नवीकरणीय स्रोतसाधनको दिगो उपयोगमा चीनले ल्यायो ‘न्यू थ्री’ नीति

Read Complete Original Article
Published originally on विश्वखबर






