भारत सरकारको सहयोगमा नवलपरासीको मध्यविन्दु नगरपालिकामा शीतभण्डार निर्माण सुरु भएको छ। गण्डकी प्रदेशअन्तर्गत नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ मा निर्माण हुन लागेको शीतभण्डारको शुक्रबार शिलान्यास गरिएको छ। भारतको काठमाडौंस्थित दूतावासकी प्रथम सचिव निशा र मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले संयुक्त रूपमा शीतभण्डार भवनको शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुने यो आयोजना मध्यविन्दु नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो परियोजना नवलपरासी जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन हुन लागेको चौथो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। शिलान्यास कार्यक्रममा नगरप्रमुख अधिकारीसहित स्थानीय सरोकारवालाले नेपालको विकासमा भारत सरकारले गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले शीतभण्डार सञ्चालनमा आएपछि मध्यविन्दु नगरपालिकाको कृषि क्षेत्रको विकास, उत्पादनको भण्डारण तथा कृषकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। भारत र नेपालबीच विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाले पूर्वाधार विकास र प्राथमिकताका क्षेत्रमा सहयोग पुर्याउँदै आएको भारतीय दूतावासले जनाएको छ।
नवलपरासीमा भारतको सहयोगमा शीतभण्डार निर्माण हुँदै

Read Complete Original Article
Published originally on पर्दाफास






