धनुषा । धनुषाको सबैला नगरपालिका–१२ स्थित ऐतिहासिक स्थल रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ भव्य रूपमा सम्पन्न भएको छ। तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका छन्। लक्ष्मीपूजा समितिको आयोजना तथा श्री हरिहरनाथ धर्मशाला संरक्षण समितिको समन्वयमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, पप स्टार कमल खत्री, हास्य कलाकार सन्दीप क्षेत्री, कार्यक्रम प्रस्तोता तथा गायिका प्राश्ना पाण्डे, गायिका प्राप्ति तुलाचन र गायक राजा राजपुतले प्रस्तुति दिएका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजक विक्रान्त कार्कीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन विवेक खतिवडाले गरेका थिए। रघुनाथपुरमा पहिलोपटक राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको सहभागितामा यति ठूलो सांस्कृतिक कार्यक्रम आयोजना भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। उनीहरूले यस कार्यक्रमले ऐतिहासिक स्थलको पहिचान र सांस्कृतिक गतिविधिको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। लक्ष्मीपूजा समितिका संयोजक वीरेन्द्र महतोले रघुनाथपुरमा पहिलोपटक यस्तो भव्य कार्यक्रम आयोजना गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, कार्यक्रम संयोजक महेश पूर्वे सुडीले कार्यक्रममा सहभागी सम्पूर्ण कलाकार तथा सहयोगीप्रति आभार व्यक्त गरे। यसअघि रघुनाथपुरमा यस किसिमको कार्यक्रम आयोजना नभएकाले स्थानीय दर्शकमा विशेष उत्साह देखिएको उनले बताए।
धनुषाको ऐतिहासिक रघुनाथपुरमा पहिलोपटक भव्य तिहार शुभकामना साँझ सम्पन्न

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



.jpg)


