नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति हाबी भएको बताएका हुन् । ‘यतिबेला देशमा विवेक हराएको छ । राज्यमा विचार हराएको छ । आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने प्रवृत्ति हाबी छ,’ उनले भने, ‘हामी विवेक, विचार र सिद्धान्तका पक्षधर तथा जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधर एकचोटि फेरि एकताको झण्डा उठाएर जानुपर्ने भएको छ ।’ उनले देशको अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू फेरि एकताबद्ध हुन जरुरी रहेको बताए । मुलुकलाई सही दिशामा अघि बढाउन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको उनको भनाइ थियो । विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै दाहालले विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उनले बताए । ‘हामी आफैँले कहाँ कमजोरी गर्यौँ भन्ने महसुस गरेका छौँ । तर हामी आफैँ यो कुरा भन्न र बोल्न डराइरहेका छौँ । यस्तो हुनु हुँदैन,’ उनले भने । दाहालले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य गर्ने विषयमा तीनबुँदे निर्णय भएको पनि जानकारी दिए । त्यसअघि माधवकुमार नेपालले मोहनविक्रम सिंहसँग सहकार्यको प्रस्ताव राखेको र मनमोहन अधिकारीसँग एकता हुँदा पैदा भएको उत्साहको उदाहरण दिएर सहकार्यको वातावरण बनाएको उनले बताए । माधवकुमार नेपालसँग भएका छलफलका आधारमा देशको जिम्मेवारी फेरि एकपटक आफूहरूले लिनुपर्ने अवस्था आएको दाहालको भनाइ थियो । उनले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न पनि पार्टीपंक्तिलाई निर्देशन दिए ।
देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड

Read Complete Original Article
Published originally on पर्दाफास






