दक्षिण कोरियाले राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ। विदेश मन्त्रालयले मङ्गलबार चुहावटको स्रोत र त्यसमा संलग्न व्यक्तिबारे पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग काम गरिरहेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ली र उनकी पत्नीको जन्ममिति, पासपोर्ट नम्बर तथा राष्ट्रपतिको विदेश भ्रमणमा सहभागी वरिष्ठ अधिकारीका व्यक्तिगत विवरण समेटिएको कम्प्युटर फाइल गत जुनमा एउटा वेबसाइटमा अपलोड गरिएको थियो। राष्ट्रपतिको युरोप भ्रमणअघि उक्त फाइल मालवेयर परीक्षण गर्ने प्लेटफर्म ‘भाइरस टोटल’ मा राखिएको र करिब पाँच महिनासम्म पहुँचयोग्य रहेको बताइएको छ। विदेश मन्त्रालयका प्रवक्ता पार्क डु–सनले प्रभावित सबैको पासपोर्ट नवीकरण गरिएको र वेबसाइटबाट सार्वजनिक विवरण हटाइएको जानकारी दिए। उनका अनुसार मन्त्रालयले घटनालाई ह्याकिङ आक्रमणभन्दा तथ्याङ्क चुहावटका रूपमा लिएको छ। राष्ट्रपति भ्रमणको तयारीमा प्रयोग गरिएका कम्प्युटर र इमेल खातासमेत जाँच भइरहेको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रमुख सचिव लिम क्वाङ–ह्युनले आपत्कालीन बैठकमा घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। चुहावटको कारण, सार्वजनिक भएका विवरणको दायरा र त्यसबाट कुनै वास्तविक क्षति पुगे–नपुगेकोबारे विस्तृत अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।–रासस The post दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु appeared first on Technology Khabar.
दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






