काठमाडौं, कात्तिक २३। गृह मन्त्रालयले नेपालीहरूको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन आग्रह गरेको हो। मन्त्रालयले २०८३ कात्तिक २३ गते जारी गरेको पत्रमा यसअघि २०८३ कात्तिक २४ गतेको सूचनाको पूर्ण पालना गर्नसमेत निर्देशन दिएको छ। निर्देशनअनुसार नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। कार्यक्रम पूर्ण रूपमा स्वैच्छिक र मर्यादित हुनुपर्ने भन्दै कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने उल्लेख गरिएको छ। त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत तथा नाराको प्रयोग गर्न नदिन पनि मन्त्रालयले निर्देशन दिएको छ। चाडपर्व मनाउने क्रममा जुवा–तास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारीसाधन नचलाउने व्यवस्था मिलाउन भनिएको छ। मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। त्यसैगरी, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ। देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ। तिहारको सांस्कृतिक मौलिकता जोगाउँदै शान्ति सुरक्षा, सामाजिक सद्भाव र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर चाडपर्व मनाउन मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ।
देउसी–भैलो खेल्न २४ सै घण्टा रोकतोक नगर्न गृह मन्त्रालयको निर्देशन, जबर्जस्ती चन्दा र अश्लील गतिविधिमा प्रतिबन्ध

Read Complete Original Article
Published originally on जनताटाइम्स




![तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-7_7f7f0bcb_BrU7VqKWXz.jpg)

