काठमाडौं। नेपाल पथ दलका संयोजक दुर्गा प्रसाईँले समसामयिक घटनाक्रम, आन्तरिक राजनीतिक गतिविधि तथा संवेदनशील विषय समेटिएको भन्दै ‘गोप्य सूचनात्मक प्रतिवेदन’ सार्वजनिक गरेका छन्। प्रसाईँले सचिवालयका तर्फबाट बिहीबार पत्रकारहरूलाई उक्त प्रतिवेदन पठाएका हुन्। प्रतिवेदनमा राष्ट्र, राष्ट्रियता, नेपालको सुरक्षा र आन्तरिक राजनीतिसँग सम्बन्धित विभिन्न विषय उल्लेख छन्। “हाम्रो मेची–कोशीलाई के बनाउन खोजिएको छ, हेर्नुस् त,” प्रसाईँले ह्वाट्सएपमार्फत फोन गरेर नेपालन्युजसँग भने। प्रतिवेदनमा मेची–महाकाली क्षेत्रलाई ‘दोस्रो लिपुलेक’ बनाउनेदेखि स्थानीय निर्वाचनपछि प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई हटाउने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजन हुने अवस्थासम्मका अपुष्ट दाबी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थलको हवाई रुट व्यवस्थापनको नाममा मेची र कोशी क्षेत्रमा तत्कालका लागि लडाकु विमान उडाउन सहमति भएको दाबी प्रतिवेदनमा छ। भविष्यमा आवश्यकताअनुसार इलाम, झापा, मोरङ र सुनसरीका भूभाग उपलब्ध गराउने विषयमा समेत गोप्य सहमति भएको प्रसाईँको दाबी छ। प्रधानमन्त्री शाहको भारत भ्रमणसँगै उठेका आलोचना र विवादलाई अन्यत्र मोड्ने उद्देश्यले नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने तयारी भइरहेको दाबीसमेत प्रतिवेदनमा गरिएको छ। रास्वपाभित्र ‘घण्टी’ र ‘लौरो’ समूह छुट्टिने अवस्था रहेको प्रसाईँको दाबी छ। पार्टी सभापति रवि लामिछानेले डीपी अर्याललाई ‘ब्याकअप’का रूपमा राख्न सभामुख पदबाट राजीनामा गराउने तयारी गरेको र अप्ठ्यारो परिस्थिति आए अर्याललाई नै पार्टी सभापति बनाउने योजना रहेको उल्लेख गरिएको छ। त्यस्तै, सांसद खगेन्द्र सुनारलाई निलम्बन गर्ने तयारी भइरहेको दाबी पनि प्रतिवेदनमा समेटिएको छ। प्रतिवेदनमा उल्लिखित यी दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन। ‘गोप्य सूचनात्मक प्रतिवेदन’ विषय: समसामयिक राजनीतिक घटनाक्रम, आन्तरिक राजनीतिक गतिविधि तथा अन्य संवेदनशील विषयहरू सम्बन्धमा। १. मेची–कोशी क्षेत्रलाई दोस्रो लिपुलेक बनाउने विषय * भैरहवा विमानस्थलको हवाई रुट व्यवस्थापनको नाममा मेची र कोशी क्षेत्रमा तत्कालका लागि लडाकु विमान उडाउन दिने सहमति भएको।* भविष्यमा आवश्यकताअनुसार ईलाम,झापा,मोरङ र सुनसरी क्षेत्रको भु-भाग उपलब्ध गराउने विषयमा समेत गोप्य सहमति भएको।* यसरी मेची र कोशी क्षेत्रलाई अर्को लिपुलेक बनाउदै। २. राजनीतिक आलोचना तथा पक्राउको तयारीसम्बन्धी विषय * प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणसँगै उठेका आलोचना तथा विवादलाई अन्यत्र मोड्ने उद्देश्यले गगन थापा र केपी शर्मा ओलीलाई पक्राउ गर्ने तयारी भइरहेको। ३. राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक सर्वेक्षण * राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र घण्टी र लौरो समूह छुट्टिने अवस्था रहेको।* यस विषयमा लौरो समुहले छुट्टै सर्वेक्षण गरिरहेको। ४. घण्टी र लौरो समूहभित्रको धार्मिक गुट * घण्टी र लौरो समूहभित्र समेत हिन्दू तथा क्रिश्चियन पक्षका छुट्टाछुट्टै फ्ल्याक्सन (गुट) रहेको। ५. गुम्बाहरूमा तिब्बती सांसदहरूको भ्रमण कार्यक्रम * जोरपाटीस्थित छोजुर गुम्बा (Choejur Gumba) र दक्षिणकालीस्थित छिसिनान्दो गुम्बामा तीन जना तिब्बती सांसद आउने कार्यक्रम रहेको।* चौतर्फी आलोचना पश्चात् उक्त कार्यक्रम केही समयका लागि स्थगित भएको। ६. नेपालमा इसाईकरणसम्बन्धी विषय * नेपालमा इसाईकरणको विषयलाई लिएर विभिन्न गतिविधि भइरहेको।* प्रधानमन्त्री बालेन दिल्ली भ्रमणको क्रममा हिन्दुराष्ट्रको कुरा गर्ने तर अमेरिका भ्रमणका क्रममा फरक गतिविधि भईरहेको।* प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमणका क्रममा Charles Mendis (क्रिश्चियन गुरु) सँगै गएको।* बोर्डिङ पास जाँच गररेमा उक्त विषय पुष्टि हुने। ७. नेपाली कांग्रेसको चुनाव चिह्नसम्बन्धी विषय * नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ फ्रिज हुन सक्ने।* वैकल्पिक रूपमा उक्त चुनाव चिह्न शेरबहादुर देउवाले समेत प्राप्त गर्न सक्ने सम्भावना रहेको ८. JW.org सम्बन्धमा * JW.org वेबसाइट तथा त्यससँग सम्बन्धित संस्थाका गतिविधिबारे अध्ययन तथा अनुगमन गर्नुपर्ने।* उक्त संस्थाले विद्यार्थीलाई बन्दक बनाउने तथा धर्म परिवर्तन गराउने गरेको। ९. रास्वपाभित्रको नेतृत्वगत असन्तुष्टि * अर्थमन्त्री स्वर्णिम वाग्ले सहित केहि मन्त्री र सांसदहरू प्रधानमन्त्री बालेन शाहनिकट खेमामा रहेको* सुदन गुरुङप्रति अविश्वास व्यक्त गरिएको।* सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाहबीच बोलचाल बन्द रहेको। १०. डीपी अर्यालको राजीनामासम्बन्धी विषय * रवि लामिछानेले डीपी अर्याललाई ब्याकअपका रूपमा राख्ने उद्देश्यले राजीनामा गराउने तयारी गरेको।* रबि लामिछानेलाई अफ्ट्यारो पर्दा DP अर्याललाई पार्टीको सभापति बनाउने तयारीमा रबि लामिछाने ।११. सांसदहरूको चीन भ्रमण * २० जना सांसद लिएर चीन गएको * उक्त भ्रमण CNYP को माध्यमबाट भएको १२. रवि लामिछाने र चिनियाँ राजदूतबीचको भेटवार्ता * मिति २०८३ मंसिर ५ गते दिउँसो २:५० बजेदेखि ४:२३ बजेसम्म रवि लामिछाने र चिनियाँ राजदूतबीच गोप्य भेटवार्ता भएको। १३. प्रहरीको नेतृत्व परिवर्तनसम्बन्धी विषय * सशस्त्र प्रहरी बलका AIG वंशी राज दाहाललाई समर्थन गरेको र रोहिङ्गा शरणार्थीको विषयमा बोलेको कारण दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (IGP) पदबाट हटाइएको।* स्थानीय तहको निर्वाचनलगत्तै नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (IGP) मनोज केसीलाई समेत पदबाट हटाउने तयारी भइरहेको। १५. खगेन्द्र सुनारको निलम्बनसम्बन्धी विषय * आन्तरिक रूपमा खगेन्द्र सुनारलाई समेत निलम्बन गर्ने तयारी भइरहेको।
दुर्गा प्रसाईँको ‘गोप्य सूचनात्मक प्रतिवेदन’मा अनेकौँ अपुष्ट दाबी

Read Complete Original Article
Published originally on नेपालन्युज






