काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्न अनुगमन तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना असोज र कात्तिकमा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरी कैफियत भेटिएका ७४ वटालाई कारबाही गरेको छ । विभागका अनुसार कारबाहीमा परेका व्यवसायीबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यले जिम्मेवारी सम्हालेपछि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन टोली परिचालन बढाइएको हो । महानिर्देशक शाक्यका अनुसार उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन हुँदै आएका छन् । बजारमा देखिने कृत्रिम मूल्यवृद्धि, व्यापारिक बेथिति र उपभोक्ता ठगी नियन्त्रणलाई विभागले प्राथमिकतामा राखेको उनले बताए । विभागले खाद्यान्न तथा किराना पसलदेखि होटल, रेस्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसलसम्म अनुगमन विस्तार गरेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य र गुणस्तर, बिक्रीवितरणको अवस्था तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड पालना भए–नभएको विषयलाई अनुगमनको मुख्य आधार बनाइएको विभागले जनाएको छ । अनुगमनका क्रममा थप ७६ वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । ती फर्ममाथि थप छानबिन तथा नियामकीय निगरानी अघि बढाइने विभागको भनाइ छ । बजारमा हुने अनियमितता नियन्त्रणका लागि सरकारी अनुगमनसँगै उपभोक्ता तथा सर्वसाधारणको सहयोग पनि आवश्यक रहेको विभागले जनाएको छ । महानिर्देशक शाक्यले ठगी, अनुचित व्यापारिक गतिविधि वा उपभोक्ताको अधिकारविपरीतका काम भएको पाइएमा विभागलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेका छन् । आवश्यकताअनुसार अनुगमन टोलीको संख्या र परिचालन थप प्रभावकारी बनाउँदै लैजाने विभागको तयारी छ ।
दुई महिनामा ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






