पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माण तथा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका काम दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने बताएका छन् । पर्वतमा आज कार्यकर्ता तथा बाढीपहिरो प्रभावित नागरिकसँगको भेटघाटमा उनले हतारमा गरिने कामले भविष्यमा पुनः समस्या निम्त्याउन सक्ने भएकाले वर्तमान र भविष्य दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सिँचाइ पूर्वाधार, नदी नियन्त्रण र विद्युत् सेवाको गुणस्तर सुधारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधारको पुनःनिर्माण तथा आगामी वर्षका लागि आवश्यक तयारी हिउँदमा नै गर्नुपर्ने उल्लेख गर्दै उनले मन्त्रालय र मातहतका विभागले प्राथमिकताका आधारमा काम गरिरहेको जानकारी दिए । स्थानीयका आवश्यकता पहिचान गर्न र प्रत्यक्ष प्रभावित क्षेत्रको अवस्था बुझ्न आफू जिल्ला आएको बताउँदै मन्त्री श्रेष्ठले मन्त्रालय र सिङ्गो सरकारको ध्यान पर्वतका समस्याको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटघाटका क्रममा जिल्लाका विभिन्न क्षेत्रका नागरिकले सामुदायिक विद्युतीकरण, कृषि, सिँचाइ, पुनःनिर्माण र पुनर्वासका विषयमा मन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए । यसअघि मन्त्री श्रेष्ठले शनिबार नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रको निरीक्षण गरी विद्युत् सेवामा देखिएका समस्या र तिनका कारणबारे कर्मचारीसँग जानकारी लिएका थिए । यसैगरी उनले विपद्ग्रस्त क्षेत्रका रूपमा सूचीकृत जलजला गाउँपालिकामा पुगेर बाढीपहिरोले पुर्याएको क्षतिको अनुगमन गर्नुका साथै प्रभावित नागरिकका गुनासा सुनेका थिए । उनले बाढीपहिरो प्रभावितको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले विशेष योजना बनाएर काम अघि बढाएको बताउँदै राहत तथा पुनर्वासका काम छिट्टै सुरु हुने जानकारी दिए ।
‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ

Read Complete Original Article
Published originally on नेपालन्युज






