कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेलस्थल तालिकाअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् । परिषद्का अनुसार एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डी सुर्खेतमा आयोजना हुनेछन् । त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्ट्सका प्रतियोगिता पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले बताए । उनका अनुसार टेनिस तथा महिला र पुरुष खो–खो बर्दियामा आयोजना हुनेछन् भने पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन गरिनेछ । त्यस्तै, जुडो र कुस्ती सल्यान, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालीकोट तथा शारीरिक सुगठन पश्चिम रुकुममा आयोजना हुनेछन् । महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल भने जुम्लामा सञ्चालन गरिनेछ । प्रतियोगितास्थलको विवरणअनुसार सुर्खेतमा सबैभन्दा बढी २२ खेल सञ्चालन हुनेछन् । सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल आयोजना गरिनेछ । त्यस्तै, बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन हुनेछन् । केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ । प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको छ ।
दसौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक, सुर्खेतमा मात्रै २२ खेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






