दसैँको टीका, ठूलाबडाको आशीर्वाद र आफन्तको अँगालो बोकेर कर्मथलोतर्फ फर्किँदै परदेशी मन

इलाम । वर्ष दिनमा एकपटक आउने नेपालीहरूको महान् चाड बडादसैँ । घरआँगनमा खुसी छाउँछ, टाढिएका आफन्त नजिकिन्छन्, ठूलाबडाको हातबाट निधारमा टीका र शिरमा जमरा थाप्दै आशीर्वाद लिइन्छ । घरका आँगन हाँसोले गुञ्जिन्छन्, परिवारका सदस्यबीच सुखदुःख साटासाट हुन्छन् । तर, यही खुसीको समय पनि एक दिन बिदाइको क्षणमा पुग्छ भन्ने कुरा सायद दसैँ मनाउन घर फर्किएकाहरूले भन्दा बढी कसले बुझ्ला र ? दसैँ मनाउन सहर, बजार र विदेशबाट गाउँघर फर्किएकाहरू अहिले फेरि आ-आफ्नो कर्मथलोतर्फ लाग्न थालेका छन् । केही दिनअघिसम्म मानिसहरूको चहलपहलले भरिएका इलामका गाउँघर, आफन्तको जमघटले रमाइला बनेका आँगन र हाँसोखुसीले गुञ्जिएका घरहरूमा पुनः बिदाइको मौनता छाउन थालेको छ । दसैँमा घर फर्किएका छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफन्तले ठूलाबडाको हातबाट टीका थापे, आशीर्वाद लिए र वर्षभरिका दुःखसुखका कथा सुनाए । लामो समयपछि भेटिएका आफन्तसँगै बसेर मिठोमसिनो खाए, पुराना सम्झना ताजा बनाए र केही दिनका लागि भए पनि संसारका सबै चिन्ता बिर्सेर रमाए । तर, चाडपर्वको खुसीसँगै बिदाइको पीडा पनि जोडिएर आउँदो रहेछ। फर्किने दिन नजिकिँदै गर्दा घरका सदस्यको अनुहारमा खुसीसँगै चिन्ता देखिन थाल्छ । आमाबुबाका आँखामा छोराछोरी फेरि कहिले भेटिएलान् भन्ने प्रतीक्षा हुन्छ । छोराछोरीका मनमा घर छाडेर जानुपर्ने बाध्यता हुन्छ । कसैले आमाको हातको खाना सम्झँदै बिदाइ लिन्छन्, कसैले बाबुआमाको आशीर्वाद शिरमा राखेर यात्राको बाटो समाउँछन् । गाउँघरमा दसैँको रौनक छाउँदा केही दिनका लागि भए पनि घर भरिभराउ बनेका थिए । आँगनमा बालबालिकाको हल्ला, आफन्तबीचको हाँसो र परिवारको जमघटले छुट्टै उमङ्ग ल्याएको थियो । अहिले भने त्यही आँगन फेरि सुनसान बन्दै गरेको इलाम नगरपालिका वडा न ९ का बिनोद पोख्रेलको भनाई छ । हिजो सँगै बसेर खुसी साटेका आफन्त आज छुट्टाछुट्टै बाटो लागेका छन् । कसैले बसको टिकट काटेका छन्, कसैले लामो यात्राको तयारी गरेका छन् भने कोही विदेश फर्किने हतारोमा छन् । रोजगारी, व्यवसाय, अध्ययन र उज्ज्वल भविष्यको खोजीमा गाउँघर छाड्नुपर्ने बाध्यता धेरैको साझा कथा बनेको इलाम गोलाखर्कका दिपेश फागोले बताए । फागो भन्छन् ,”गाउँमा जन्मिएर, हुर्किएर बाल्यकालका सम्झना सँगालेका मानिसहरू आज आफ्नो सपना पूरा गर्न टाढा बस्न बाध्य छन् । उनीहरूका लागि दसैँ केवल चाडपर्व मात्र होइन, परिवारसँग भेटिने, ठूलाबडाको आशीर्वाद लिने र आफ्नो माटोको सुगन्धमा केही दिन रमाउने अमूल्य अवसर पनि हो ।” वर्ष दिनपछि आउने दसैँले सबैलाई एकै ठाउँमा भेला गराउँछ । मनका पीडा बिर्साउँछ, सम्बन्धलाई थप आत्मीय बनाउँछ र फेरि भेट्ने आशा जगाउँछ । तर, टीका र जमरा सुक्न नपाउँदै कर्मथलो फर्किनुपर्ने वास्तविकताले धेरैको मन भारी बनाउँछ । यद्यपि, बिदाइको क्षणमा पनि एउटा आशा जीवित रहन्छ-फेरि अर्को वर्ष दसैँ आउनेछ, घरको आँगनमा आफन्त भेला हुनेछन्, ठूलाबडाको हातबाट टीका थाप्न पाइनेछ र छुट्टिएका मनहरू फेरि एकपटक भेटिनेछन् । यसरी हाँसेर, रमाएर, ठूलाबडाको आशीर्वाद र आफन्तको माया बोकेर गाउँघरबाट बिदा भएका मानिसहरू फेरि आफ्नो कर्मक्षेत्रतर्फ फर्किरहेका छन् । उनीहरूका पाइला टाढा जाँदै गर्दा गाउँघरमा सम्झना बाँकी छ, परिवारमा प्रतीक्षा बाँकी छ र मनमा अर्को दसैँको भेटको मीठो आशा बाँकी छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार, घाइतेको उपचार हुँदै
झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार […] ...

सौर्यमण्डल बाहिर पहिलो चन्द्रमाको खोजी : बृहस्पति ग्रहभन्दा ठुलो उपग्रह भेटिएको दाबी
काठमाडौँ । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल बाहिर सम्भवतः पहिलो चन्द्रमा फेला पारेका छन्, तर यो रहस्यमयी पिण्ड हामीले चिनेका कुनै पनि चन्द्रमाभन्दा फरक रहेको छ। युरोपेली साउदर्न अब्जर्भेटरीको भेरी लार्जर टेलिस्कोप (ईएसओको... ...

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
काठमाडौँ । बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रबाट करिब ...

हुम्लामा चार करोडका खसीबोका व्यापार
राजन रावतहुम्ला, कात्तिक ९ गते । हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक... ...


