सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले ओलम्पिक टर्च तथा ट्रफी टुर आरम्भ गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार टुरको शुभारम्भ गरिएको हो । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको छ । कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव रविन चन्दले टर्च म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेसँगै दैलेखबाट ट्रफी टुरको औपचारिक यात्रा सुरु भएको हो । ट्रफी टुरलाई मुख्य खेलस्थल वीरेन्द्रनगरबाट कर्णालीका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य-सचिव रामचरित्र मेहता, कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य-सचिव रविन चन्दले बिदाइ गर्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहोल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । टर्च तथा ट्रफी टुर दैलेखबाट प्रतियोगिताका खेल आयोजना हुने कालीकोट हुँदै जुम्लासम्म पुग्ने कार्यक्रम छ । टुरमा ओलम्पियन दिपक विष्ट, दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दिपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देवु थापा तथा कराते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी हुनुहुन्छ । जुम्लामा चर्चित अल्ट्रा धाविका सुनमाया बुढासमेत टोलीमा सहभागी हुने कार्यक्रम छ । कालीकोट र जुम्लामा टर्च तथा ट्रफीलाई नगर परिक्रमा गराइने आयोजकले जनाएको छ । राष्ट्रियस्तरका चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताप्रति खेलप्रेमी तथा सर्वसाधारणको आकर्षण बढाउने विश्वास आयोजकको छ । ट्रफी टुर समापनपछि १५ मंसिरमा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले भव्य समारोहबीच टुर टोलीको स्वागत गर्दै ट्रफी अनावरण गर्ने कार्यक्रम छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता १६ मंसिरदेखि कर्णाली प्रदेशमा औपचारिकरूपमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गतका ३२ खेलमध्ये १० खेल भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । पौडीमा बागमतीलाई १६ स्वर्णदशौं राष्ट्रिय खेलकुदअन्तर्गत आयोजित २३औं राष्ट्रिय पौडी प्रतियोगितामा बागमती प्रदेशले सर्वाधिक १६ स्वर्ण पदक जितेको छ । कात्तिक ८ देखि ११ गतेसम्म सञ्चालित प्रतियोगितामा बागमतीले नौ रजत र १० कांस्यसहित ३५ पदक प्राप्त गरेको छ । नेपाली सेनाले सर्वाधिक ३९ पदक जितेको छ । सेनाले सात स्वर्ण, १५ रजत र १७ कांस्य पदक प्राप्त गरेको छ । स्वर्ण पदकका आधारमा भने सेना तेस्रो स्थानमा रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ स्वर्ण, चार रजत र चार कांस्यसहित २० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । नेपाल पुलिस क्लबले छ स्वर्ण, १४ रजत र १६ कांस्यसहित ३६ पदक प्राप्त गरेको छ । त्यस्तै, कोशी प्रदेशले तीन स्वर्ण पदकसहित तीन पदक जित्दा सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, चार रजत र एक कांस्यसहित सात पदक प्राप्त गरेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मंगलबारदेखि नेपालगञ्जस्थित रंगशालाको पौडी पोखरीमा सुरु भएको प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ एनआरएनएसहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगितामा ४६ प्रतिस्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् । लन टेनिस महिला सिंगलतर्फ शिवली र स्वस्तिका फाइनलमादशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लन टेनिस खेलको महिला सिंगलतर्फ नेपाल आर्मीकी शिवली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा प्रवेश गर्नुभएको छ । आर्मीकी शिवली गुरुङले बागमतीकी प्रज्ना मानन्धरलाई ६-०, ६-० स्कोरले र आर्मीकी स्वस्तिका बिष्टले बागमतीकी प्रकृति श्रेष्ठलाई ६-२, ६-२ स्कोरले पराजित गर्दै शुक्रबार फाइनलमा प्रवेश गर्नुभएको हो । चौथो दिन पुरुष डबलतर्फ क्वाटर फाइनल खेलमा नेपाल आर्मीका प्रणभ खनाल, राजवीर प्रधानले एपीएफका सन्तोष खत्री, सक्षम विक्रम शाहलाई ६-१, ६-२ स्कोरले पराजित गर्नुभएको छ । यस्तै, गण्डकीका प्रदीप खड्का, करण थापाले एनआरएनका असभ सिंह हडा, दावा सोनम शर्पालाई ६-१, ६-१ स्कोरले पराजित गर्नुभयो । बागमतीका निशान श्रेष्ठ, प्रितम परियारले एपीएफका देव अषिश रेउले, सुमन लामालाई ६-०, ७-५ स्कोरले पराजित गर्नुभयो । आर्मीका निहाल जंगबहादुर थापा, दर्शिल श्रेष्ठले सुदुरपश्चिमका माधव सिंह विष्ट, रमेश सिंह डाँगालाई ६-०, ६-० स्कोरले पराजित गर्नुभयो । यस्तै, मिक्स डबलतर्फको सेमिफाइनलमा आर्मीका शिवली गुरुङ, राजवीर प्रधानले बागमतीका प्रकृति श्रेष्ठ, निशान श्रेष्ठलाई ७-६, ६-१ स्कोरले पराजित गर्नुभयो । आर्मीका प्रणभ खनाल, स्वस्तिका विष्टले गण्डकीका शक्ति शर्मा, आहाना शेरचनलाई ६-०, ६-० स्कोरले पराजित गरेको लन टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिनुभयो । शुक्रबार पुरुष डबलतर्फ चार, महिला सिंगल दुई र मिक्स डबलतर्फ दुई गरी जम्मा आठ खेल भएको उहाँले जनाउनुभयो । पुरुष क्रिकेटमा कोशीलाई ११ रनले हराउँदै एपिएफ विजयीदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । बिहीबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि ओपनर दिपक बोहोराले सर्वाधिक ५७ रन बनाउनुभयो । ४४ बलको सामना गर्नुभएका उहाँले तीन छक्का र चार चौका प्रहार गर्नुभएको थियो । त्यस्तै, सुमित महर्जनले २१ बलमा तीन चौकासहित २८ रन जोड्दा अमरसिंह रौतेलाले १६ रनको योगदान दिनुभयो । प्रज्वल शाहीले आठ, सन्तोष यादवले छ, युवराज खत्रीले पाँच, भुवन कार्कीले तीन र अर्सद अहमदले दुई रन बनाउनुभयो । एपिएफले अतिरिक्त १८ रन प्राप्त गरेको थियो । १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनमात्रै बनाउन सक्यो । कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । ३९ बल खेल्नुभएका उहाँले दुई छक्का र पाँच चौका प्रहार गर्नुभएको थियो । यस्तै, कृतिक कामतले ३८ बलमा दुई छक्का र एक चौकाको मद्दतले २७ रन बनाउनुभयो । समिर कार्कीले ११, विपिनकुमार महतोले आठ, सोनु अन्सारीले छ र दिपेश कँडेलले पाँच रन जोड्नुभयो । कोशीले अतिरिक्त २२ रन पाएको थियो । एपिएफको जितमा अमरसिंह रौतेलाले उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले तीन ओभरमा १७ रन खर्चेर तीन विकेट लिनुभयो । अविनाश बोहराले दुई विकेट लिँदा सन्तोष यादव र भुवन कार्कीले एक-एक विकेट हात पार्नुभयो । महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमाविभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको खेलमा आर्मीले आयोजक कर्णाली प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । उसका लागि सम्झना खड्काले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा यशोदा विष्टले ३३ र कविता कुँवरले अविजित ११ रनको योगदान दिनुभयो । १३९ रनको लक्ष्य पछ्याएको कर्णाली आर्मीको धारिलो बलिङसामु टिक्न नसक्दा ४१ रनमै समेटियो । कर्णालीका लागि जयन्ती चन्दले सर्वाधिक १० रन बनाउनुभयो । आर्मीको जितमा मनिषा उपाध्यायले १० रन खर्चेर ४ विकेट लिनुभयो । यमुना थारुले तीन तथा कविता कुँवरले दुई विकेट हात पार्नुभयो । लगातार दोस्रो हार बेहोरेसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो । लुम्बिनीविरुद्ध कोशीको सहज जितदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेशले सफलता हात पारेको छ । कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशमाथि चार–एक गोलको सजिलो जित हासिल गरेको हो । कोशी प्रदेशले पहिलो हाफमै तीन-शून्य गोलको अग्रता लिएको थियो । कोशीको जितमा मिलन राईले दुई गोलको योगदान गर्नुभयो । खेल सुरु भएको १२औँ मिनेटमै मिलनले पहिलो गोल गर्नुभयो । १४औँ मिनेटमा अमित बसराले टोलीको अग्रता दोब्बर बनाउनुभयो । निर्धारित समयको ३२औँ मिनेटमा मिलनले व्यक्तिगतरूपमा दोस्रो गोल गर्नुभयो । खेलको ६३औँ मिनेटमा लुम्बिनी प्रदेशका लागि फागुराम थारुले एक गोल फर्काउनुभयो । यसैगरी, ६४औँ मिनेटमा सौरभ लिम्बूले कोशी प्रदेशका लागि चौथो गोल गर्नुभएको थियो । राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाइनेछ : खेलकुदमन्त्री पोखरेलशिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन छुट्टै संयन्त्र तयार पारिने बताउनुभएको छ । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे सञ्चारकर्मीसँग छलफल गर्न शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । ‘बृहत् राष्ट्रिय खेलकुद घरेलु खेलकुदको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो । त्यसैले आगामी दिनमा यो प्रतियोगितालाई व्यवस्थित बनाउन छुट्टै संयुक्त तयार गरिनेछ,’ उहाँले भन्नुभयो, ‘विगतमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता झारा टार्ने तरिकाले आयोजना हुँदै आएको पायौँ । तर, आगामी दिनमा यो प्रतियोगिता व्यवस्थितरूपमा अगाडि बढनेछ ।’ उहाँले कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता विगतको भन्दा व्यवस्थित तरिकाले सम्पन्न हुने दाबी गर्नुभयो ।
दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






