काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिएका छन्। नेपाल प्रिमियर लिगपछि नेपाली खेलकुद क्षेत्रको ध्यान अब राष्ट्रिय खेलकुदतर्फ मोडिएको बताउँदै उनले यसको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले एनपीएलले सिर्जना गरेको ऊर्जा र उत्साहलाई निरन्तरता दिँदै यस बृहत् प्रतियोगितालाई भव्य बनाउने तयारी भइरहेको उल्लेख गरेका छन्। प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन्। औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने कार्यक्रम रहेको छ। मन्त्री पोखरेलले वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिए पनि हालसम्म ९ वटा मात्र संस्करण सम्पन्न हुनु दुःखद भएको बताएका छन्। विगतमा देखिएको ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ। उनले भने, ‘यही मङ्सिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ।’ प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न आफू गम्भीर रहेको मन्त्री पोखरेलको भनाइ छ। खेलकुदलाई बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्न उनले जोड दिएका छन्। साथै, दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गरिएको उनले बताएका छन्।
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजनाको प्रतिबद्धता

Read Complete Original Article
Published originally on नेपालन्युज






