महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट थप ४८ खेलाडी छनोट भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत आइतबार विभिन्न खेलका प्रतिस्पर्धाबाट फुलकन्ट्याक्ट कराते, आइटिएफ कराते, जुडो र सितोरियो करातेका ४८ खेलाडी छनोट भएका हुन् । यसअघि शनिबार सम्पन्न कुस्तीको प्रदेशस्तरीय छनोटबाट महिला तथा पुरुष गरी १८ खेलाडी छनोट भएका थिए । करातेमा एकल तथा समूह कातातर्फ स्वर्ण जित्ने खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने कराते प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । आइतबार सम्पन्न प्रतिस्पर्धामा पुरुष एकल कातातर्फ कञ्चनपुरका नागेश थलाल र महिला एकल कातातर्फ कञ्चनपुरकै पार्वती पार्कीले स्वर्ण जित्दै राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्नुभएको छ । पुरुष समूह कातातर्फ कैलाली र महिला समूह कातातर्फ कञ्चनपुरका खेलाडीले स्वर्ण जितेका छन् । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहका अनुसार फुलकन्ट्याक्ट करातेतर्फ सुदूरपश्चिमबाट १४ खेलाडी छनोट भएका छन् । छनोट हुनेमा बझाङका आठ, कञ्चनपुरका पाँच र बाजुराका एक खेलाडी छन् । त्यस्तै, जुडोतर्फ कैलालीका चार, कञ्चनपुरका दुई र बैतडीका एक गरी सात खेलाडी छनोट भएका छन् । आइटिएफ करातेतर्फ भने २३ खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्थान बनाएका छन् । छनोट हुनेमा कञ्चनपुरका १७, बैतडीका पाँच र कैलालीका एक खेलाडी छन् । सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता शनिबारदेखि धनगढी, महेन्द्रनगर र डडेल्धुरामा एकैसाथ सञ्चालन भइरहेको छ । कञ्चनपुरमा तेक्वान्दो, महिला तथा पुरुष कबड्डी, ह्याण्डबल र हक्कीलगायत खेलको छनोट प्रक्रिया पनि जारी रहेको छ । कञ्चनपुरमा सञ्चालन भइरहेका छनोट खेलको संयोजनको जिम्मेवारी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य लीला सिंह बोहरालाई दिइएको छ । प्रदेश खेलकुद परिषद्, धनगढीका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३० खेलका ७४४ खेलाडी सहभागी हुनेछन् ।
दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट थप ४८ खेलाडी छनोट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






