दक्षिण कोरियाको सरकारले शुक्रबार गुगलले गुगल म्याप र गुगल अर्थबाट दक्षिण कोरियाको भूभागका अक्षांश र देशान्तरसम्बन्धी विवरण हटाएको जनाएको छ। गत फेब्रुअरीमा उच्च शुद्धतायुक्त नक्सासम्बन्धी तथ्यांक विदेश निर्यात गर्न दिइएको अनुमतिसँग जोडिएका सुरक्षा सर्तमध्ये यो पनि एक थियो। फेब्रुअरीमा दिइएको उक्त अनुमतिले करिब दुई दशकदेखि कायम रहेको सोल सरकारको अडानमा ठूलो परिवर्तन ल्याएको थियो। संवेदनशील सैन्य तथा सुरक्षा केन्द्रहरूको जानकारी सार्वजनिक हुन सक्ने जोखिम देखाउँदै दक्षिण कोरियाले सन् २००७ र २०१६ मा गुगलका अनुरोध अस्वीकार गरेको थियो। सरकारका विभिन्न निकायले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार दक्षिण कोरियाको भूभागभित्र र त्यस वरपर रहेका सबै सैन्य तथा सुरक्षा केन्द्रका गुगल स्ट्रिट भ्यु तस्बिरहरू पनि हटाइनेछन्। सरकारले अनुमति दिँदा तोकिएका सर्तहरूको गम्भीर उल्लंघन भएमा अनुमति निलम्बन वा रद्द गर्ने जनाएको छ। उद्योग क्षेत्रका स्रोतलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले गुगलले आफ्नो नक्सा सेवाका लागि आधारभूत नक्सासम्बन्धी तथ्यांक प्रशोधन गर्न दक्षिण कोरियाली नेभिगेसन कम्पनी टीएमएपी मोबिलिटीलाई छनोट गरेको जनाएको छ। रोयटर्सका अनुसार सरकारी विज्ञप्तिअनुसार गुगलले सुरक्षा मापदण्डअनुसार प्रशोधन गरिएका तस्बिरका लागि स्वदेशी साझेदार कम्पनीहरूमा निर्भर रहनुपर्नेछ। साथै, ती तस्बिर कुनै परिवर्तन नगरी आफ्नो प्रणालीमा राख्नुपर्नेछ। योन्हापका अनुसार गुगलले अर्को वर्षदेखि नै दक्षिण कोरियाभित्रका सर्भरमा टीएमएपीले प्रशोधन गरेका र सरकारी सुरक्षा मापदण्डअनुसार तयार गरिएका तथ्यांक प्रयोग गर्ने अपेक्षा गरिएको छ। यो सहकार्य सडक, भवन र ठेगानाजस्ता स्थिर जानकारीमा मात्र सीमित हुनेछ। यसमा टीएमएपी प्रयोगकर्ताको व्यक्तिगत विवरण, वास्तविक समयको स्थानसम्बन्धी जानकारी र सवारी चलाउने मार्ग समावेश हुने छैनन्। यस विषयमा टिप्पणी माग्दा गुगलले तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। The post दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक appeared first on Technology Khabar.
दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






