काठमाडौं । दक्षिण कोरियामा कर लेखापालको राष्ट्रिय परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका व्यक्तिले जेनेरेटिभ एआईको प्रयोग गरेर चिट चारेको स्वीकारेका छन् । आइतबार उनको यो खुलासासँगै विगत केही महिनादेखि चलिरहेको आशंका सत्य सावित भएको छ । गएको अप्रिल र जुलाईमा लिइएका दुईवटा परीक्षामा सयौं प्रश्नहरूको उत्तर शतप्रतिशतजस्तै मिलाएपछि उनी चर्चामा थिए । त्यसबेलै कतिपयले उनले एआईको सहयोगले चिट चारेको हुनसक्ने आशंका गरेका थिए । ‘एटोर्नी ली डोन–हो’ नामक युट्युब च्यानलमा माफी माग्दै उनले भने, ‘मैले इलेक्ट्रोनिक यन्त्रहरू र जेनेरेटिभ एआईको प्रयोग गरेर चिट चोरेको हुँ। मेरो यो सफलता कुनै निष्पक्ष मेहनतको परिणाम होइन ।’ उनले आफ्नो थर ‘हान’ रहेको बताएका छन् । हानले सूक्ष्म क्यामेरा (माइक्रोक्यामेरा) को सहायताले परीक्षाका प्रश्नहरूको तस्बिर खिचेर एआई टूलमा पठाउने र स्मार्टफोनमार्फत उत्तरहरू हेर्ने गरेको खुलासा गरे । मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको पनि बताएका छन् । रोयटर्सले यस विषयमा सोल जुङ्बु प्रहरी स्टेशनमा सम्पर्क गर्न खोज्दा कुनै जवाफ पाउन सकेन । यस घटनाले दक्षिण कोरियामा ठूलै हलचल ल्याएको छ ।सरकारी सेवा गर्नुलाई यहाँँ प्रतिष्ठाका रुपमा लिइन्छ । दक्षिण कोरियामा आउँदो बिहीबार राष्ट्रिय कलेज प्रवेश परीक्षा हुन गइरहेको छ । यस घटनाले उक्त परीक्षाको व्यवस्थापन र कडाईका विषयमा पनि चिन्ता सुरु भएको छ । राष्ट्रपतिको कार्यालयका एक वरिष्ठ अधिकारीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिको कार्यालयले यस विषयलाई निकै गम्भीर रूपमा लिएको छ । अर्को साता कलेज प्रवेश परीक्षा हुने भएकाले हामीले यसका लागि कडा सुरक्षात्मक उपायहरूको तयारी गरिरहेका छौं ।’रोयटर्स
दक्षिण कोरियामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






