काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको लगेजबाट प्रहरीले साढे ५ किलो सेतो हेरोइन बरामद गरेको हो। हेरोइनसहित पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। शनिबार बिहान शङ्का लागेर प्रहरीले उनको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको थियो। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान छ। अनुसन्धान अधिकृतहरूका अनुसार सेतो हेरोइन प्रतिग्राम करिब ४० हजार रुपैयाँमा कारोबार हुने गरेको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको खुलेको छ। उनको यात्रा विवरणमा जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमणसमेत देखिएको छ। उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबार गर्ने सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ। सेतो हेरोइन कारोबारमा संलग्नलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






