काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। तिहार २०८३ का अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले तिहारलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा व्याख्या गरेका छन्। राष्ट्रपति पौडेलले तिहारले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने बताउँदै यस पर्वले प्रेम, स्नेह, दया, करुणा र अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिने उल्लेख गरेका छन्। उनले काग, कुकुर, गाई, गोरु र गोवर्द्धन पर्वतको सम्मान तथा पूजा गर्ने परम्पराले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएका छन्। तिहारका सांस्कृतिक अभ्यासले सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अघि बढ्न प्रेरित गर्ने उनको विश्वास छ। त्यस्तै, उपराष्ट्रपति यादवले तिहारले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह र सद्भावका माध्यमबाट जोड्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने बताएका छन्। उनले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई पूजाले समृद्धि तथा गोरु पूजाले श्रम र कृषि सभ्यताको महत्त्व उजागर गर्ने उल्लेख गरेका छन्। लक्ष्मी पूजा, देउसी–भैलो र भाइटीकाले पारिवारिक आत्मीयता, सहकार्य र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ। उपराष्ट्रपति यादवले तिहारलाई दीप प्रज्वलनको पर्वमा मात्र सीमित नराखी नेपाली सभ्यता, मौलिक संस्कृति, प्रकृतिप्रतिको सम्मान र सामाजिक सहअस्तित्वको जीवन्त उत्सवका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। दुवै जनाले तिहारले आपसी वैमनस्यता, घृणा र विभेद अन्त्य गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र समृद्धिको यात्रामा सबै नेपालीलाई एकताबद्ध हुन प्रेरित गरोस् भन्ने कामना गरेका छन्। साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
‘तिहारले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउँछ’

Read Complete Original Article
Published originally on नेपालन्युज






