काठमाडौँ । नेपालको आन्तरिक बजारमा मात्रै यसपटक तिहारमा २० करोड रुपैयाँभन्दा बढीको कुचो कारोबार हुने अनुमान गरिएको छ । विगतका तथ्याङ्कका आधारमा २० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको नेपाल कुचो सङ्घले जनाएको छ । यस्तै, भारतमा पनि सोही अनुपातमा निर्यात हुने सङ्घको भनाइ छ । धन्तेरसदेखि लक्ष्मीपूजासम्मको अवधिमा कुचोको सबैभन्दा बढी कारोबार हुने गर्दछ । सङ्घका अध्यक्ष राजकुमार कार्कीका अनुसार नेपालको आन्तरिक बजारमा वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गर्छ भने भारतमा पनि करिब १ अर्ब रुपैयाँबराबरको निर्यात हुने गरेको छ । उनका अनुसार आन्तरिक तथा निर्यात गरी वर्षभर हुने कुल कारोबारको करिब २० प्रतिशत तिहारकै समयमा हुने गर्दछ । उनले भने,“कुचो सनातन कालदेखि नै लक्ष्मीपूजामा पूजा गर्ने प्रचलन छ । लक्ष्मीले सरसफाइ मन पराउने र जहाँ सफा–सुग्घर हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने मान्यताका कारण तिहारमा कुचोको खरिदबिक्री बढ्ने गर्दछ ।” सङ्घको तथ्याङ्कअनुसार काठमाडौँ, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्जलगायत ठुला सहरमा कुचोको अत्यधिक माग हुने गर्दछ। अध्यक्ष कार्कीले भने, “ग्रामीण क्षेत्रको यकिन तथ्याङ्क हुँदैन, तर तिहारमा देशभरि नै धेरै माग हुने गर्दछ ।” पछिल्लो समय कुचो उद्योग विस्तार हुँदै गएको छ। यस वर्ष बङ्गलादेशबाट १० करोड रुपैयाँबराबरको कुचोको माग भएको छ । कुचो व्यवसाय विस्तार हुँदै गएपछि २०७८ सालमा नेपाल कुचो सङ्घ स्थापना गरिएको थियो। स्थापना पश्चात् सङ्घले कुटिर, लघु तथा मझौला हुँदै ठूला कुचो उद्योग स्थापना गर्न पहल गरिरहेको छ। अध्यक्ष कार्कीले भने, “कुचोमा हामी आत्मनिर्भर छौँ र निर्यात पनि गरिरहेका छौँ। परम्परागत तथा सनातनी मान्यताका कारण कुचो उद्योग फस्टाउँदै गएको छ ।” अध्यक्ष कार्कीले तिहारमा आफ्नो परम्परा जोगाउन तथा कुचो उद्योगको प्रवर्धनमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । उनले भने, “यो उद्योगमा हामी आत्मनिर्भर बनेका छौँ । अब यसलाई थप प्रवर्धन गर्दै तिहारको परम्परा जोगाउन र हाम्रो रैथाने उद्योगको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु । ” सङ्घका अनुसार यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १ हजारभन्दा बढी कामदार आबद्ध छन्।
तिहारमा ४० करोड रुपैयाँभन्दा बढीको कुचो कारोबार हुने अनुमान

Read Complete Original Article
Published originally on टक्सार






