काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन तथा सवारी आवागमन सहज बनाउन क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी र सीसी क्यामेरामार्फत निगरानी बढाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न टोली तथा साधन परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन क्यूआरटी र मोबाइल गाडी परिचालन गर्नुका साथै कन्ट्रोल रुमबाट सीसी क्यामेरामार्फत समेत निगरानी भइरहेको छ। उहाँले भन्नुभयो, ‘हामीले ट्राफिक व्यवस्थापनका लागि ट्राफिकका साधन परिचालन गरेका छौँ। हाम्रा क्यूआरटी र मोबाइल गाडीहरू परिचालनमा छन्। सीसी क्यामेराबाट पनि कन्ट्रोल रुममार्फत निगरानी गरिरहेका छौँ।’ मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रण गर्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको टोली खटाइएको उहाँले बताउनुभयो। पछिल्लो समय तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने गतिविधि निरुत्साहित गर्न ट्राफिक प्रहरी केन्द्रित रहेको उहाँको भनाइ छ। मापसे तथा लापसे गरेर सवारी चलाउने केही व्यक्ति फेला परेको उल्लेख गर्दै उहाँले बिहानको तुलनामा दिउँसो यस्तो गतिविधि बढ्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘संख्यात्मक हिसाबले धेरै त छैन, थोरै भेटिएका छन्। बिहानभन्दा दिउँसो बढ्न सक्छ, त्यसैले हामीले त्यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ।’ तिहारका अवसरमा टीका लगाउन जाने तथा फर्किने क्रममा सवारी साधन तीव्र गतिमा नचलाउन र मादक तथा लागुऔषध सेवन गरेर सवारी नचलाउन पनि सुवेदीले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। ‘रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेर वा छिटो पुग्छु भनेर तीव्र गतिमा सवारी चलाउँदा ठूलो जोखिम निम्तिन सक्छ। यसले पारिवारिक रूपमा पनि ठूलो पीडा दिन सक्छ। त्यसैले सबैलाई संयमित भएर सवारी चलाउन अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो।
तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






