शरद ऋतु नेपाली समाजका प्रमुख चाडपर्वहरूको याम हो । बडादशैँको उल्लासमय समापनसँगै अहिले देशभर दीपावली अर्थात् तिहारको रौनक छाएको छ । अविरल वर्षा, बाढीपहिरो र त्यसबाट जनजीवनमा परेको प्रतिकूल प्रभावका कारण यस वर्षको दशैँ देशकै लागि अपेक्षाकृत असहज रह्यो । तथापि, तिहारको आगमनसँगै नेपाली समाजमा पुनः आशा, उत्साह, उमंग र उज्यालोको सञ्चार भइरहेको छ । दशैँको समापनको करिब पन्ध्र दिनपछि सुरु हुने तिहार नेपाली समाजको साझा, मौलिक र सांस्कृतिक विविधताले भरिपूर्ण पर्व हो । दीपावली, यमपञ्चक वा तिहारका नामले परिचित यो पर्व पाँच दिनसम्म विशेष उल्लासका साथ मनाइन्छ । प्रकाश, प्रेम, श्रद्धा, पूजाआराधना र पारिवारिक आत्मीयताको अनुपम संगमका रूपमा रहेको यस पर्वका पाँचदिनले नेपाली संस्कृतिको विशिष्ट पहिचान बोकेका छन् । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटीका यसका प्रमुख उत्सव हुन् । तिहारको पहिलो दिन सन्देशवाहकका रूपमा मानिने कागको पूजा गरिन्छ । दोस्रो दिन मानव जीवनको निष्ठावान् रक्षकका रूपमा कुकुरलाई सम्मान तथा पूजा गर्ने परम्परा छ । तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरी घर, आँगन र प्रतिष्ठानहरूमा दीप प्रज्वलन गरिन्छ । यसै दिन गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलन छ । चौथो दिन अन्न उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउने गोरु तथा कृषि श्रमसँग जोडिएका हलीहरूको सम्मानस्वरूप गोवर्धन पूजा गरिन्छ । पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् । यही दिन नेवार समुदायले आत्मसम्मान, आत्मशुद्धि र आत्मसाक्षात्कारको प्रतीकका रूपमा म्हपूजा मनाउँछन् । यसैसँगै नेपालको मौलिक संवत् नेपाल संवत्को नयाँ वर्ष पनि प्रारम्भ हुन्छ । दशैँ र तिहार दुवै नेपाली समाजका महत्त्वपूर्ण सांस्कृतिक पर्व भए पनि तिनका धार्मिक तथा सांस्कृतिक विशेषता फरक छन् । दशैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय तथा शक्ति र साहसको प्रतीकका रूपमा लिइन्छ भने तिहार प्रेम, सद्भाव, सौन्दर्य र सहअस्तित्वको उत्सव हो । दशैँमा शक्तिस्वरूपा देवीको आराधना र परम्परागत खानपानको विशेष महत्त्व रहन्छ भने तिहारमा मिठाई, फलफूल, रोटी तथा परिकारको मिठाससँगै फूल, बत्ती र रंगोलीले घरआँगन सजाउने परम्परा छ । देउसी-भैलो तिहारको अर्को महत्त्वपूर्ण आकर्षण हो । विगतमा पुरुष र महिलाले छुट्टाछुट्टै रूपमा देउसी-भैलो खेल्ने प्रचलन रहे पनि पछिल्लो समय लैंगिक विभेदभन्दा माथि उठेर दुवैको समान सहभागिता बढ्दै गएको छ । यसले पर्वलाई थप समावेशी र उल्लासमय बनाएको छ । तिहारसँग विभिन्न पौराणिक तथा ऐतिहासिक किंवदन्तीहरू पनि जोडिएका छन् । वामन अवतार र दानवीर बलिराजाको कथालाई देउसी-भैलो परम्परासँग सम्बन्धित मानिन्छ । ‘हामी त्यसै आएका होइनौं, बलिराजाले पठाएर आएका हौं’ भन्ने देउसी-भैलोको प्रचलित गीतले यही पौराणिक प्रसंगलाई स्मरण गराउँछ । यसका अतिरिक्त विगतमा स्थानीय शासकहरूले जनसहभागिता जुटाउन र राज्यकोषका लागि स्रोत संकलन गर्न देउसी खेल्ने गरेको ऐतिहासिक सन्दर्भसमेत पाइन्छ । यसरी देउसी-भैलो केवल मनोरञ्जनको माध्यम नभई सामाजिक सहभागिता, सहयोग र सांस्कृतिक निरन्तरताको प्रतीकसमेत बनेको छ । तिहार दान, धर्म, श्रद्धा र सद्भावको पर्व पनि हो । यस अवसरमा दानदक्षिणा गर्दा पुण्य प्राप्त हुने र जीवनका दुःख, कष्ट तथा दुर्भाग्यहरूबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ । देउसी-भैलो खेल्न आउने समूहलाई सिदा, दक्षिणा, अन्न तथा अन्य उपहार प्रदान गर्ने परम्पराले सामाजिक सहयोग र आपसी सद्भावको भावना अभिवृद्धि गर्छ । जात, धर्म, भाषा, संस्कृति वा सम्प्रदायका सीमाभन्दा माथि उठेर मनाइने यस पर्वले नेपाली समाजको बहुलता र साझा पहिचानलाई बलियो बनाएको छ । तिहारका पाँच दिन यमराज र उनकी बहिनी यमुनाबीचको आत्मीय सम्बन्धसँग पनि जोडिएका छन् । पौराणिक कथाअनुसार बहिनी यमुनाको प्रेमपूर्ण आतिथ्य र स्नेहबाट प्रभावित यमराजले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र दीर्घायु सधैं कायम रहोस् भन्ने वरदान दिएका थिए । यही विश्वासका आधारमा भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको निःस्वार्थ प्रेम, विश्वास र पारिवारिक एकताको प्रतीकका रूपमा स्थापित भएको हो । पछिल्ला वर्षहरूमा दशैँलगायत कतिपय धार्मिक तथा सांस्कृतिक पर्वलाई राजनीतिक र सामाजिक विवादसँग जोडेर हेर्ने प्रवृत्ति देखिए पनि तिहारले अझै पनि नेपाली समाजमा साझा उत्सवको पहिचान कायम राखेको छ । यसको मूल सन्देश नै सहिष्णुता, सद्भाव, पारिवारिक एकता, सामाजिक समरसता र सांस्कृतिक विविधताको सम्मान हो । आजको विभाजित र असहिष्णु बन्दैगएको सामाजिक परिवेशमा तिहारको यही सन्देश अझ बढी सान्दर्भिक छ । पर्वहरू केवल धार्मिक अनुष्ठान र परम्पराको निरन्तरता मात्र होइनन्, समाजलाई जोड्ने, आपसी सम्बन्ध सुदृढ बनाउने र मानवीय संवेदना अभिवृद्धि गर्ने अवसर पनि हुन् । यसै सन्दर्भमा, हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया हाउसका तर्फबाट हाम्रा समस्त पाठक, ग्राहक, विज्ञापनदाता, लेखक, स्तम्भकार, सम्पादक, पत्रकार, संवाददाता, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा दीपावली, म्हपूजा, नेपाल संवत्, छठ, इद, ल्होसार, माघीलगायतका सम्पूर्ण आगामी चाडपर्वहरूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यी पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आपसी सद्भावको उज्यालो फैलाउन सकून् । समाजमा एकता, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनोस् । यही नै तिहारको वास्तविक सन्देश र हाम्रो हार्दिक मंगलकामना हो ।
तिहारको उज्यालो, सद्भावको सन्देश

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






