काठमाडौं। यस वर्षको तिहार अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार सार्वजनिक गरेको आगामी पाँच दिनको पूर्वानुमान अनुसार कार्तिक २३ देखि २७ गतेसम्म मौसम सामान्य रहनेछ। यसले गर्दा देउसी-भैलो, दिप प्रज्वलन र भाइटीका जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने देखिएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पूर्वानुमान अनुसार तराईका भू-भागमा मौसम पूर्ण रूपमा सफा रहनेछ भने पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। तराईका जिल्लाहरू, काठमाडौं उपत्यका र पहाडी खोँचहरूमा बिहानीपख हल्का हुस्सु वा कुहिरो लाग्ने हुनाले केही चिसो महसुस हुन सक्नेछ। दिउँसो भने देशभर घाम लाग्नेछ। कार्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थान र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। सोही दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि फाट्टफुट्ट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। कार्तिक २६ बिहीबार र २७ गते शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुनेछ। महाशाखाले सोमबार र मंगलबारका लागि कुनै पनि मौसमी चेतावनी जारी गरेको छैन, जसले गर्दा रात्रिकालीन कार्यक्रमहरू निर्वाध सञ्चालन गर्न सकिनेछ।
तिहारको अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने

Read Complete Original Article
Published originally on नेपालन्युज






