Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सयपत्रीमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
सयपत्रीमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर
Photo / Coverage: नेपालन्युज

पोखरा। तिहार नजिकिँदै गर्दा पोखराका बजारमा सयपत्री फूलको चहलपहल बढेको छ । सयपत्रीले बजार सजिन थालेका छन् भने कृषकहरू फूल टिप्ने, माला उन्ने र बिक्री वितरणको तयारीमा व्यस्त छन् । दिदीबहिनी र दाजुभाइबीचको स्नेह साटासाट गर्ने भाइटीकामा सयपत्रीको विशेष महत्व रहन्छ । यही अवसरलाई लक्षित गर्दै पोखराका कृषकहरू फूलखेती र बजारीकरणमा जुटेका हुन् । जसलाई पोखरा महानगरले सघाइरहेको छ । तिहारका लागि आवश्यक सयपत्री फूल अन्य स्थानबाट पोखरा ल्याउनुपर्ने अवस्थालाई फेर्दै महानगरले सयपत्री फूलमा किसानलाई आत्मनिर्भर बनाउन जुटेको छ । स्थानीय स्तरमै फूलखेती विस्तार हुन थालेपछि पोखरा सयपत्री उत्पादनमा आत्मनिर्भरता तर्फ अघि बढेको हो । यसले एकातिर स्थानीय बजारको माग धान्न सहयोग पु¥याएको छ भने अर्कोतिर कृषकका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको छ। पोखरा महानगरपालिकाका अनुसार यस वर्ष तिहारमा करिब तीन करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान छ । फूलको बिक्री वितरणलाई व्यवस्थित बनाउन महानगरले प्रतिकिलो पाँच सय रुपैयाँ र प्रतिमाला दुई सय रुपैयाँ मूल्य निर्धारण गरेको छ । साथै, कृषकले सहज रूपमा फूल बिक्री गर्न सकून् भन्ने उद्देश्यले महानगरका विभिन्न १७ भन्दा बढी स्थानमा बिक्री केन्द्रसमेत तोकिएका छन्। यसै अवसरलाई नयाँ व्यवसायको अनुभवका रूपमा लिएका छन्, खडकराज सन्जेलले । व्यावसायिक खेतीमा संलग्न सन्जेलले पाँच वर्षदेखि कृषि व्यवसाय गर्दै आए पनि यस वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका हुन् । उनले दुई रोपनी क्षेत्रफलमा फूल लगाएका छन्। पहिलोपटक फूलखेती गरेका उनी यस वर्षको उत्पादन र बजारको अवस्था हेरेर आगामी वर्ष खेती विस्तार गर्ने योजनामा छन् । अपेक्षा गरेअनुसारको आम्दानी नभए पनि पहिलो प्रयासबाट उनी सन्तुष्ट छन् । ‘यो वर्ष अनुभवका लागि पनि फूलखेती सुरु गरेको हुँ। सोचे जस्तो नभए पनि खुसी छौँ। यस वर्ष ५०–६० हजार रुपैयाँसम्म आम्दानी होला भन्ने अपेक्षा छ। बजारको अवस्था हेरेर अर्को वर्ष क्षेत्रफल बढाउने सोच छ,’ सन्जेल भन्छन्। फूल बिक्रीका लागि छुट्टै ठाउँको भाडा तिर्नु नपरेको र ग्राहकहरू आफैँ आउन थालेकाले पनि उनलाई सहज भएको छ । स्थानीय स्तरमा फूलको माग र बजारको सम्भावना बुझदै गरेका सन्जेलका लागि यस वर्षको खेती आगामी दिनको व्यावसायिक यात्राको आधार बन्ने अपेक्षा छ। सयपत्री खेतीमा नयाँ किसान मात्र होइन, लामो समयदेखि कृषि व्यवसायमा संलग्न किसानसमेत आकर्षित छन् । विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएका रमेश कुमार श्रेष्ठले सिजन अनुसार सयपत्री फूलखेती पनि गर्दै आएका छन्। यस वर्ष उनले तीन रोपनी क्षेत्रफलमा सयपत्री लगाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन र बिक्री दुवै बढ्ने उनको अपेक्षा छ । किसानको बारीमा फूल फुल्ने क्रम राम्रो रहेकाले उपभोक्ताले पनि सहज रूपमा फूल पाउने श्रेष्ठको विश्वास छ । फूलको मागसँगै मालाका लागि अग्रिम अर्डरसमेत आउन थालेको उनी बताउँछन्। त्यस्तै, पहिलोपटक सयपत्री खेतीमा हात हालेकी लक्ष्मी सुवेदीले पनि थोरै क्षेत्रफलमा फूल लगाएकी छन्। खेतीको सम्भावना बुझ्ने उद्देश्यले सुरु गरेको उनको पहिलो प्रयासमै राम्रो प्रतिफल पाएको सुनाउँछिन् । नयाँ किसानका लागि महानगरले उपलब्ध गराएको प्रोत्साहन र बजार व्यवस्थापनले फूलखेती सुरु गर्न सहज भएको छ। पोखरामा सयपत्री खेतीको विस्तारसँगै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पोखरा महानगरपालिकाले पनि सहयोग गर्दै आएको छ । महानगरको कृषि विकास शाखा प्रमुख मनोहर कडरियाका अनुसार बाहिरबाट आउने फूलमा निर्भरता घटाउँदै पोखरालाई स्थानीय उत्पादनमै आत्मनिर्भर बनाउने उद्देश्यले विगत तीन वर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिइएको हो। ‘पहिले सयपत्री फूल बाहिरबाट भित्रिने अवस्था थियो। पोखरालाई यसमा आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भन्ने उद्देश्यले विगत तीन वर्षदेखि यहाँको मागअनुसार उत्पादन बढाउने प्रयास गरिरहेका छौँ,’ कडरिया भन्छन्। उनका अनुसार महानगरले कृषकलाई बीउमा सहयोग गर्दै फूलखेती विस्तार गरिरहेको छ। महानगरको सहयोगमा एक सयभन्दा बढी रोपनी क्षेत्रफलमा खेती विस्तार भएको छ भने किसानले आफ्नै लगानीमा पनि ५० रोपनीभन्दा बढी क्षेत्रमा सयपत्री लगाएका छन्। यस वर्ष पोखरामा कुल दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा फूलखेती गरिएको छ। महानगरले उपलब्ध गराएको विवरणअनुसार पोखरा अहिले सयपत्री फूलको मागको करिब ७० प्रतिशत स्थानीय उत्पादनबाटै धान्न सक्ने अवस्थामा पुगेको छ। स्थानीय मागलाई ध्यानमा राखेर आगामी वर्ष उत्पादन क्षेत्र थप विस्तार गर्ने योजना महानगरको छ। सयपत्री फूलखेतीको विस्तार केवल तिहारको बजारसँग मात्र जोडिएको छैन। यसले कृषकको आम्दानी बढाउनु समेत सहयोग पु¥याउन थालेको छ। नयाँ किसानलाई खेतीमा आकर्षित गर्ने र पुराना किसानलाई उत्पादन विस्तार गर्न प्रोत्साहित गर्ने वातावरणले पोखरामा फूलखेतीप्रति उत्साह बढाएको छ। तिहारसँगै केही दिनका लागि चुलिने सयपत्रीको मागलाई स्थानीय उत्पादनले क्रमशः सम्बोधन गर्दै गएको छ। यसले बाहिरबाट फूल आयात गर्नुपर्ने निर्भरता घटाउनुका साथै कृषकका लागि मौसमी आम्दानीको भरपर्दो सम्भावना पनि देखाएको छ। फूलसँगै फुलिरहेको यो सम्भावनाले पोखरालाई सयपत्री उत्पादनमा थप आत्मनिर्भर बनाउने आशा जगाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन
Latest NewsJust now

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्... ...

रातोपाटी
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन
Latest NewsJust now

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ । ...

कान्तिपुर
इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प
Latest NewsJust now

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायल । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play