काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँगको एकीकरणप्रतिको प्रतिबद्धता दोहोर्याउँदै मातृभूमिको एकीकरणलाई इतिहासको अपरिहार्य दिशा बताएका छन् । बिहीबार (नोभेम्बर १२) बेइजिङमा नेता सन यात–सेनको १६०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सीले ताइवान मुद्दाको समाधान गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको ‘अटल ऐतिहासिक मिसन’ भएको बताए । उनले इतिहासको बहाव रोक्न नसकिने र चीनको एकीकरण भएरै छाड्ने दाबी गरे । यद्यपि, उनले सम्बोधनमा बल प्रयोगको सम्भावनाबारे कुनै उल्लेख गरेनन् । सीले चीन ‘शान्तिपूर्ण एकीकरण’ र ‘एक देश, दुई व्यवस्था’ को नीतिमा प्रतिबद्ध रहेको बताए । साथै, ‘एक चीन’ सिद्धान्तका आधारमा ताइवानसँग वार्ता गर्न चीन तयार रहेको उनको भनाइ थियो । उनले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने शक्तिहरूको विरोध गर्न र दुवै पक्षबीच शान्तिपूर्ण सम्बन्ध तथा विकासलाई अघि बढाउन आह्वान गरे । तर, ताइवानले लामो समयदेखि चीनको सार्वभौमिकताको दाबी अस्वीकार गर्दै आएको छ । त्यहाँका प्रमुख राजनीतिक दलहरूले पनि बेइजिङले प्रस्ताव गरेको ‘एक देश, दुई व्यवस्था’ मोडललाई समर्थन गरेका छैनन् । सीको पछिल्लो अभिव्यक्ति अर्को साता शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि आएको हो । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता हुन सक्ने सम्भावना छ । यसैबीच, ताइवानमा पनि स्थानीय निर्वाचन नजिकिँदै छ । ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि नै टापुको भविष्य त्यहाँका जनताले मात्रै निर्धारण गर्ने बताएका थिए । चीनले उनलाई अलगाववादी नेताका रूपमा चित्रण गर्दै आएको छ र उनको सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै आएको छ ।
ताइवानसँग एकीकरण भएरै छाड्ने सी चिनफिङको दाबी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






