झापा। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको लत्ताकपडा बरामद भएपछि त्यसको मूल्य कम निर्धारण गरी भन्सार बुझाउन तस्करीमा संलग्न समूहले सशस्त्र प्रहरीमाथि दबाब दिएको आरोप सार्वजनिक भएको छ। झापाको भद्रपुर नगरपालिका–५ स्थित निर्माणाधीन घरबाट बरामद गरिएका १५ पोका लत्ताकपडाको मूल्य वास्तविकभन्दा कम कायम गर्न दबाब दिइएको प्रहरी स्रोतले जनाएको छ। बरामद वस्तुको मूल्यांकन प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ। सशस्त्र प्रहरी बल नेपाल भद्रपुर गुल्मका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय थापाले प्राप्त विशेष सूचनाका आधारमा आइतबार बिहान छापा मार्दा भद्रपुर–५ निवासी सुकदेव सहनीको निर्माणाधीन घरको कोठामा लुकाइएका कपडा फेला परेका थिए। बरामद सामग्रीमा लेडिज लेगिज र पञ्जालगायतका कपडा रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ती सामान अघिल्लो रात भारतबाट मेची नदी हुँदै मेची पुलमुनिको बाटोबाट नेपाल भित्र्याइएको आशंका गरिएको छ। वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर भन्सार कार्यालय नजिकै रहेको घरबाट तस्करीका सामान बरामद हुनुले सीमावर्ती क्षेत्रमा अवैध कारोबारको अवस्था र निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ। सशस्त्र प्रहरीले तस्करीमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्न अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद सामान भन्सार कार्यालयमा बुझाइएको भए पनि त्यसको विस्तृत परिमाण तथा मूल्यांकन विवरण सार्वजनिक गरिएको छैन। बरामद वस्तुको मूल्य कम निर्धारण गराउन दबाब दिइएको भनिएको घटनाले भन्सार मूल्यांकन प्रक्रियामा सम्भावित चलखेलबारे चासो थपिएको छ। यस विषयमा सशस्त्र प्रहरी र भद्रपुर भन्सार कार्यालयको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन सकेको छैन।
तस्करीको कपडाको मूल्य घटाउन दबाब, भद्रपुरमा १५ पोका बरामद

Read Complete Original Article
Published originally on नेपालन्युज






