काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार साँझ १८:०० बजे सामाजिक सञ्जालमार्फत एउटा सन्देश सार्वजनिक गरेका छन्। थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ थापाको यो टिप्पणीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। धेरैले यसलाई हालै चर्चामा रहेको कांग्रेसको आधिकारिकता विवाद र त्यससँग जोडिएको १८ करोड रुपैयाँको डिलको दाबीसँग जोडेर हेरेका छन्। केही अनलाइन सञ्चारमाध्यमले बिचौलिया इनम सापकोटाले कांग्रेसको आधिकारिकताका लागि उक्त रकमको लेनदेन भएको बयान दिएको दाबी गर्दै समाचार सार्वजनिक गरेका थिए। सोही समाचारमा सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिइएको आरोपसमेत लगाइएको छ। थापाको यो स्टाटस प्रधानमन्त्री वालेन्द्र शाहको हालैको टिप्पणीप्रति लक्षित रहेको पनि चर्चा छ। प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ यसअघि सानेपामा बसेको बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैलीको आलोचना गरेका थिए। उनले कर्मचारीलाई उठाउने र प्रेसलाई धम्क्याउने शैली राज्य सञ्चालनको मान्यताविपरीत भएको टिप्पणी गरेका थिए। थापाको सचिवालयले भने यो स्टाटसको सन्दर्भबारे थप जानकारी दिएको छैन।
तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगन थापा

Read Complete Original Article
Published originally on नेपालन्युज






