काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गर्नुभएको छ । डोल्पाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका ६ विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमार्फत छात्रवृत्ति उपलब्ध गराइने उहाँले बताउनुभयो । गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजना तथा केएमसीको समन्वयमा शुक्रबार डोल्पाको दुनैमा आयोजित निःशुल्क स्वास्थ्य शिविरका क्रममा डा. शर्माले छात्रवृत्तिको घोषणा गर्नुभएको हो । स्वास्थ्य शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गराउने घोषणा पनि उहाँले गर्नुभएको छ । काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज हुँदासम्म खानाको व्यवस्था गरिदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा सहभागी हुन कतिपय नागरिक तीनदेखि चार दिनसम्म पैदल यात्रा गरेर दुनै पुगेका थिए । डा. शर्माले बिरामीसँग प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य समस्या तथा उपचारका क्रममा भोग्नुपरेका कठिनाइबारे जानकारी लिनुभएको थियो । कर्णाली प्रदेशमै उपचार सम्भव नभएका बिरामीको पहिचान गरी काठमाडौं ल्याएर उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै उहाँले डोल्पाको सडक तथा यातायातको अवस्था सुधार गर्न राज्यको ध्यानाकर्षण गराउनुभयो । उहाँले दुर्गम क्षेत्रका नागरिकको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै डोल्पाली जनताको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न राज्यले पनि गम्भीर पहल गर्नुपर्ने बताउनुभयो । शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको आयोजकले जनाएको छ । रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । यद्यपि, डा. शर्माले काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने र विपन्न बिरामीका लागि खानाको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । डा. शर्माले स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षामा पनि विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । उहाँको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाइसकेको जनाइएको छ । छात्रवृत्तिमा अध्ययन गरेका कतिपय विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा यसका उदाहरण हुन् । यसै अभियानअन्तर्गत आगामी मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा परामर्श सेवा प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाइने आयोजकले जनाएको छ । दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले कर्णालीका विभिन्न जिल्लामा अभियान विस्तार गरिएको हो । केएमसीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार तथा शल्यक्रियामा सहयोग पुर्याउँदै आएको छ । ‘जनसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने मान्यतासहित नागरिकको स्वास्थ्य समस्या पहिचान गरी आवश्यक उपचारमा सहयोग गर्ने अभियानलाई निरन्तरता दिइने डा. शर्माले बताउनुभएको छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकसम्म विशेषज्ञ सेवा पुर्याउनु आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






